मोरङ जेठ ७ : कोरोना भाइरस (कोभिड १९)को सफल उपचारपछि बुधबार विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना घर फर्किएका छन् ।
उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो संक्रमितमध्ये ८ जनालाई डिस्चार्ज गरिएको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले बताए । वैशाख पहिलो साता संक्रमित पुष्टि भएका त्रियुगा–३ भुल्केका १६ जमातिसहित ३२ संक्रमितमध्ये ५ भारतीय र ३ भुल्केका स्थानीय बुधबार डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय मोहम्मद इद्रिस, ४० वर्षीय मोहम्मद सनौला र २८ वर्षीय मोहम्मद साविर रहेका छन् । त्यसैगरी पाँच जनामा भुल्केको मस्जिदमा रहेका भारतीय जमाती ६६ वर्षीय मुस्ताकिन, मोहम्मद सइद, २५ वर्षीय मलिन खान, २२ वर्षीय सलमान खान र १८ वर्षीय गुड्डु रहेको केन्द्रले जनाएको छ ।
डिस्चार्ज भएका ५ जना भारतीय जमातीलाई विराटनगर–१५ रानीस्थित मरकज क्वारेन्टाइनमा राखिने छ भने तीन जनालाई उनीहरूकै घर उदयपुर पठाइएको छ । यसअघि डिस्चार्ज भएका भारतीय जमातीलाई रानी मरकजमै राखिएको छ ।
कोभिड उपचारका लागि कोठा व्यवस्थापन र डिस्चार्ज गरेपछि पूर्णरूपमा कोठा सेनेटाइज गरी धनकुटाबाट आउने नयाँ संक्रमितलाई राख्ने तयारी केन्द्रले गरेको छ । धनकुटाबाट थप ६ जना नयाँ संक्रमित राखिने तयारी भइसकेको डा दीपक सिग्देलले जानकारी दिए ।
उपचार केन्द्रमा बुधबारसम्म उपचार गराउन आउने संख्या जम्मा ५९ जना रहेकामध्ये २६ जना सफल उपचारपछि घर फर्किसकेका छन् । यसमध्ये उदयपुरको झुल्केबाट मात्रै ३३ जना संक्रमित उपचारका लागि आएका थिए भने २३ जना उपचारपछि फर्किएका छन् । यससँगै केन्द्रमा झल्केका १० जनाको उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डा सिग्देलले बताए ।