काठमाडौँ, १७ साउन : खेलाडीका लागि आपत्विपतमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत तीन खेलाडीलाई आज उपचार खर्च प्रदान गरेको छ ।
कोषका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उपचाररत विभिन्न तीन खेलाडीलाई उपचार खर्च रकमको चेक आज हस्तान्तरण गर्नुभयो ।
उपचार रकम प्राप्त गर्ने खेलाडीमा टेबल टेनिसकी सेलिशा खड्गी, टेबल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपचाररत छिन् । यसैगरी शारीरिक अस्वस्थताका कारण ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई रु एक लाखको चेक हस्तान्तरण गरियो ।
त्यस्तै स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई रु एक लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।