लकडाउनमा बस चढेर काफल खान गएका ३० युवा प्रहरीको फन्दामा

  जेठ ०६, २०७७

गोरखा, जेठ ६ : लकडाउनको उलङ्घन गरी काफल खान गएका ३० जना पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका ४ र ५ बाट बस रिजर्भ गरेर काफल खान वडा नम्बर २ थालाजुङ्गको जङ्गल पुगेका ३० जना युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।

बस चढेर ठूलो सङ्ख्यामा मानिसहरू जङ्गलमा काफल खान गएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हर्मीबाट गएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूमध्ये २९ जना वडा नम्बर ४ छोप्राक र १ जना वडा नम्बर ५ छोप्राकका स्थानीय रहेको इलाका प्रहरी कार्यालय हर्मीका प्रहरी नायव निरीक्षक इन्द्र थापाले जानकारी दिनुभयो ।

समातिएका अधिकांश यातायात क्षेत्रमा काम गर्ने मजदुर रहेको उहाँले बताउनुभयो । ती युवाहरूले लकडाउनको बेला सिरानचोक गाउँपालिका ४ छोप्राकमा पार्किङ गरिरहेको ना ५ ख ४७६ नम्बर बस प्रयोग गरेका थिए । उक्त बससहित बसमा सवार ३० जनालाई अहिले इलाका प्रहरी कार्यालय, हर्मीमा राखिएको छ ।

सरकारले गरेको लकडाउनको उलङ्घन गरी बस चलाएर जङ्गलमा काफल खान गएकाले उनीहरूलाई कानुनअनुसार कारबाही गरिने गोरखाका प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभएको छ । सरकारले सहरी सदरमुकाम र सहरी क्षेत्रमा लकडाउनमा कडाइ गरेपनि गाउँगाउँका युवाहरू समूह बनाएर काफल खान जाने, पौडी खेल्ने, पिकनिक खाने लगायतका काम गरिरहेको स्थानीयहरूले गुनासो गरेका छन् । गाउँमा प्रहरीको उपस्थिति कम भएकाले पनि समस्या भएको सरोकारवालाको भनाइ छ ।

तपाईको प्रतिक्रिया