ड्युनेडिन (न्युजिल्यान्ड), १३ साउन : अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।
यी दुवै टिमको दुई खेलबाट समान एक अङ्क भएको छ । समूह जीमा अर्जेन्टिना र दक्षिण अफ्रिका क्रमशः इटली र स्विडेनसँग पराजित भएका थिए ।
खेलको ३० औँ मिनेटमा लिन्डा मोटालोको गोलबाट दक्षिण अफ्रिकाले अग्रता बनाएको थियो । उहाँले थेम्बी काट्लानाको पासमा गोल गर्नुभएको हो । खेलको ६६ औँ मिनेटमा काट्लाना आफैँले गोल गरी दक्षिण अफ्रिकालाई २–० ले अगाडि पार्नुभयो ।
खेलको ७४ औँ मिनेटमा सोफिया ब्रैनले बललाई गोलपोस्टमा माथिल्लो कुनामा छिराएर अर्जेन्टिनालाई खेलमा फर्काउनुभयो ।पाँच मिनेटपछि रोमिना नुनेजले हेड गोल गरी खेल बराबर गर्नुभयो । विश्वकप महिला फुटबलमा दक्षिण अफ्रिकाले पहिलो पटक अङ्क हासिल गरेको हो ।
सन् २०१९ मा खेलेका तीन खेल र चालु प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकाले हार बेहोरेको थियो तर यस संस्करणमा दक्षिण अफ्रिका बलियो टिमका रूपमा प्रस्तुत भएको छ । स्विडेनविरुद्धको पहिलो खेलमा अग्रता बनाएर पनि दक्षिण अफ्रिका २–१ ले पराजित भएको थियो ।