कठमाडौँ, जेठ ६ : अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या १०.२ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई रु. ७१३ अर्ब ११ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा चालू खाता घाटा रु. १३५ अर्ब ५४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. २०४ अर्ब ८० करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा एक अर्ब ८० करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा एक अर्ब १८ करोड रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. ११ अर्ब ६२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. १६ अर्ब ४८ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. सात अर्ब १० करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकामा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको छ ।
आन्तरिक कर्जा
कोरोना सङ्क्रमणलाई दृष्टिगत गर्दै सरकारले गरेको बन्दाबन्दीभन्दा अगाडि कुल आन्तरिक कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा १३.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा यस्तो कर्जा १६.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १६.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५.४ प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.९ प्रतिशतले बढेको छ । २०७६ चैत मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको थियो । २०७६ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.४ प्रतिशत रहेको छ । २०७५ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५.२ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १४.३ प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको २०७६ चैत मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७५ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १४.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्र्फ १२.८ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२.४ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १४.७ प्रतिशत र सेवा क्षेत्रतर्फ १९.२ प्रतिशतले कर्जा बढेको छ ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २४.७ प्रतिशत, ओभरड्राफ्ट कर्जा ७.८ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा १५.९ प्रतिशत, डिमान्ड तथा चालू पँुजी कर्जा ११.३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ८.६ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.४ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ ।