वीरगञ्ज महानगरको एकै वडामा ४० सँगै पर्सा जिल्लामा ९१ सङ्क्रमित पुग्याे

  जेठ ०५, २०७७

वीरगञ्ज, जेष्ठ ५ : पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको एउटा वडामा ४० जना सङ्क्रमितसहित पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । चैत २९ गते ३ जनामा सङ्क्रमण देखिएसगै सङ्क्रमितहरू भेटिन थालेको पर्सा जिल्लामा ३६ दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या बढेर ९१ पुगेको हो ।

वीरगञ्जको छपकैयामा रहेको जामे मस्जिदमा बसेका ३ जना भारतीय नागरिकसँगै भित्रिएको कोरोनाभाइरसको सङ्क्रमण फेला परेको ३६ दिनमै बढेर ९१ जनामा पुगेको हो । ती तीन जनाको सम्पर्कमा आएकाहरूको चेकजाँच गर्दैजाँदा वैशाख ३० गते सम्ममा सङ्क्रमितको सङ्ख्या ८५ पुगेको थियो भने जेठ महिनामा ६ जना बढेर सङ्क्रमितको सङ्ख्या ९१ पुगेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ भने पर्सा जिल्लामा सबैभन्दा बढी सङ्क्रमित रहेको क्षेत्र बनेको छ । चैत ३० गतेदेखि नै सिल रहेको उक्त वडामा एकै परिवारका १८ जनासहित सङ्क्रमितको सख्या ४० पुगेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ , २ , ३ , ४ , १२ , १६ , १७ , १८ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने पर्साको जयमङ्गलापुर, सम्झौता, तुलसीवर्वा, धोबिनी, सखुवा प्रसौनीको सिद्धपुर र भिस्वामा पनि सङ्क्रमित फेला परेका छन् ।

पर्साको सदरमुकाम वीरगञ्जमा मात्र देखिएको सङ्क्रमण पर्साकै विभिन्न ग्रामीण क्षेत्रमासमेत देखिन थालेको छ । वैशाख ३० गते बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ८५ पुगेको थियाे । त्यसपछि जेठ २ गते ४ जना र ३ गते २ जना गरी ९१ जना पुगेको हो ।

थपिएका ५७ जना सङ्क्रमितमा २ जना सञ्चारकर्मी रहेकाले पर्साको वीरगञ्जका १०४ जना सञ्चारकर्मीले आ–आफ्नो स्बाव परीक्षण गराएका र सबैको नेगेटिभ रिपाेर्ट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । सङ्क्रमित सञ्चारकर्मीको परिवारका सदस्यहरूमा समेत सङ्क्रमण नदेखिएको उहाँले गोरखापत्रलाई बताउनुभयो ।

सुरुमा एक जना त्यसपछि फेरि एक जना अनि १७ जना सङ्क्रमित, १३ सङ्क्रमित गर्दै ४० सङ्क्रमित भएको वडा नम्बर ३ मा सुरुका दुई जनाबाहेक १७ जना सबैको सम्पर्कमा आएकाहरूको पहिचान नै नभएको र पछि फेला परेका २१ जनाको सम्पर्कमा आएकाहरूको पहिचान गरी स्वाब सङ्कलन गर्ने कामसम्म नभएको गुनासो उक्त वडाका बासिन्दा सञ्चारकर्मी शत्रुध्न नेपालले सामाजिक सञ्जाल फेसबुकमा गर्नुभएको छ । यसरी सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको पहिचान गरी चेकजाँच तीव्र पार्न सबैले सामाजिक सञ्जालमार्फत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

एकैदिन ५७ जनामा सङ्क्रमित भेटिएपछि जिल्ला सुरक्षा समितिले सोही दिनदेखि लागू हुने गरी जेठ ५ गतेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो तर तीव्र रुपमा गरिनुपर्ने स्वाब सङ्कलन नगर्दा यहाँका सर्वसाधारणमा त्रास झनै थपिएको छ र दैनिकी असहज भएको छ । निषेधाज्ञामा सुरक्षाकर्मीको दुर्व्यवहारबाट सर्वसाधारणले सास्ती पनि पाएका छन् । निषेधाज्ञाको नाममा स्वस्थ्यकर्मी, बच्चाको लागि दुध किन्न निस्किएका र औषधि उपचारका लागि निस्केका सर्वसाधारणले समेत सुरक्षाकर्मीको डण्डा खानु परेको छ भने प्रहरीको कुटाइबाट बसपार्कका नागेश्वर महत्तोको दाहिने खुट्टा भाँचिएको छ ।

एकै परिवारका १८ जनामा सङ्क्रमण फेला परेपछि उनीहरूको सम्पर्कमा आएका ६० जना पहिचान गरिएपनि अझै परीक्षण गरिएको छैन । त्यसयता फेला परेका अन्य सङ्क्रमितको सम्पर्कका आएका व्यक्तिहरूको पनि उस्तै अवस्था छ । उच्च जोखिममा रहेको वीरगञ्जमा भीटीएम किटको अभावले स्वाब सङ्कलन प्रभावित बनेको र वीरगञ्जमा दुईदेखि तीन हजार भीटीएम आवश्यक रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।

तपाईको प्रतिक्रिया