तेल अभिभ, जेठ ४ : इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल अभिभनजिकैको आफ्नै निवासमा मृत फेला परेको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
५८ वर्षीय डु आफ्नै खाटमा मृत भेटिएको बताइए पनि उनको मृत्युको कारणबारे खुलाइएको छैन । उनी गत फेब्रुअरीमात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । इजरायल जानुअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए ।
इजरायली सञ्चारमाध्यमहरुका अनुसार राजदूत वेईको शरीरमा कुनै चोटपटक लागेको छैन । इजरायली स्वास्थ्य अधिकारीहरुले राजदूत वेईको मृत्यु हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । इजरायली प्रहरीले घटनाको अनुसन्धान थालिसकेको बताएको छ ।
शुक्रबार तेल अभिभस्थित चिनियाँ दूतावासले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको आरोपको खण्डन गरेको थियो । गत हप्ता इजरायल भ्रमण गर्दा चीनले कोरोना भाइरसको संक्रमणबारे सूचना लुकाएको आरोप अमेरिकी विदेशमन्त्री पोम्पियोले लगाएका थिए ।
चिनियाँ दूतावासले निकालेको वक्तव्यमा वैज्ञानिहरुले अहिलेसम्म कोरोना भाइरसको उत्पत्ति कहाँ र कसरी भयो भन्ने कुरा पत्ता नलगाएको उल्लेख गर्दै अहिले कोरोना भाइरसको इपिसेन्टर अमेरिका भएको बताएको थियो ।
वेई इजरायलका लागि राजदूतमा नियुक्त भएसँगै फेब्रुअरीको दोस्रो सातामा तेल अभिभ आएका थिए । उनी इजरायलमा १४ दिन क्वारेन्टाइन बसेको इजरायली सञ्चारमाध्यम हअरेजले जनाएको छ । मार्चको अन्तिमतिर उनले ओहदाको प्रमाणपत्र इजरायली राट्रपतिसमक्ष बुझाएका थिए । कोरोना महामारीका कारण उनले राष्ट्रपतिसँग प्रत्यक्ष भेटघाट भने गरेनन् ।
राजदूत वेईले आफ्नो कार्यकालमा इजरायल–चीनबीचको सम्बन्धलाई पथ सदृढ गर्ने बताएका थिए । वेईको श्रीमती र एक छोरा छन् ।