युवकको मृत्युपछि नरैनापुरमा तनाव, थप सुरक्षाकर्मी माग

  जेठ ०४, २०७७

नेपालगञ्ज, जेठ ४ : बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएपछि सो क्षेत्रमा तनाव उत्पन्न भएको छ । भारतको मुम्बईबाट गत वैशाख ३० गते आएर क्वारेन्टाइनमा बसिरहेका युवकको मृत्युपछि स्थानीयले उपचार नपाउँदा उनको मृत्यु भएको भन्दै विरोध गरेका छन् ।

नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका ती २४ बर्षीय युवकको वान्ता लागेर बेहोस भएपछि आइतबार बिहान मृत्यु भएको वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले बताउनुभयो ।

उनलाई बान्ता भएको र समयमा उपचार गर्न नलगिएको कारण मृत्यु भएको क्वारेन्टाइनमा बसेका अन्यले जानकारी गराएको उहाँले बताउनुभयो ।  नरैनापुरमा दुई दिनअघि भेटिएका ८ जना सङ्क्रमितको सम्पर्कमा आएका ती युवकको शनिबार दिउँसो स्वाब सङ्कलन गरिएको थियो । तर, सो स्वाबको परीक्षण रिपोर्ट नआउँदै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

समयमा उपचार नपाएर युवकको मृत्यु भएको भन्दै स्थानीयले विरोध शुरु गरेपछि नरैनापुरको अवस्था तनावपूर्ण भएको हो ।  मृत्यु भएका ती युवक शनिबार दिउँसोबाटै बिरामी रहेको भएपनि उनलाई उपचारका लागि नेपालगञ्ज लैजान नसकिएको कारण मृत्यु भएको आरोप स्थानीय बासिन्दाले लगाएको वडा अध्यक्ष मौर्यले बताउनुभयो ।

स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ)  उपलब्ध नभएका कारण एम्बुलेन्स चालकले उपचारका लागि नेपालगञ्ज ल्याउन नमानेको स्थानीयको भनाई छ । युवकको मृत्युपछि नरैनापुर क्षेत्रमा तनाव र आक्रोश बढ्दै गएकोले जिल्ला सदरमुकामबाट सेना पठाउन माग गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनु भएको छ । उहाँले आफूले सम्झाईबुझाई गरेर साम्य पारिरहेको बताउनुभयो ।

‘थप सतर्कताका लागि प्रमुख जिल्ला अधिकारीसँग सेना पठाउन आग्रह गरेको छु, सेना आएमा अवस्था सामान्य बनाउन सहज हुने छ ।’–अध्यक्ष शाहले भन्नुभयो ।  केही घण्टामा मृतक युवाको स्वाब परीक्षण रिपोर्ट आउने जानकारी प्रमुख जिल्ला अधिकारीबाट पाएको जनाउँदै रिपोर्ट हेरेर अगाडीको कदम चालिने उहाँले बताउनुभयो ।

यसैबीच नरैनापुर क्षेत्र अतिनै संवेदनशील भएकोले कुनै घट्ना भएमा त्यहाँको अवस्था नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीले नसक्ने जनाउँदै तत्काल सेना पठाउनुपर्ने माग जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले गर्नुभएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले घटनाबारे जानकारी आएलगत्तै आफूहरूले सो बारेमा गम्भीरतापूर्वक निगरानी गरिरहेको जनाउँदै आवश्यक परे थप सुरक्षाकर्मी पठाइने बताउनुभयो ।

नरैनापुरमा शुक्रबार भारतको मुम्बईबाट फर्किएकामध्ये ८ जनामा कोरोना पोजिटिभ भेटिएपछि शनिबार चार वटा क्याम्पमार्फत उनीहरूको सम्पर्कमा रहेका २ सय ६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । ती सबै स्वाबको रिपोर्ट आइतबार बेलुकासम्म आउने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया