रौतहटका १० संक्रमित पाँच दिनअघि मुम्बइ र गुजरातबाट आएका थिए

  जेठ ०४, २०७७

रौतहट, जेठ ४ : रौतहटमा थप १० जना कोरोना संक्रमित पाँच दिनअघि भारतको मुम्बई र गुजरातबाट आएका र उनीहरुलाई परिवारको सम्पर्कमा जान नदिई इशनाथ, परोहा र राजपुरमा रहेको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उनीहरु नेपाल प्रवेश गर्न लाग्दा नाकामै नियन्त्रणमा लिएर स्वाव परीक्षणको लागि काठमाडौं पठाई क्वारेन्टाइनमा राखिएको थियो । यसअघि रौतहटमा तीन जनालाई कोरोना संक्रमण भइसकेको छ । हालसम्म जिल्लामा संक्रमितको संख्या १३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आइतबार बिहान दिनुभएको सूचना अनुसार रौतहटमा थप दश जना कोरोना संक्रमित भेटिएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण गरिएको थियो ।

संक्रमण हुनेमा रौतहट राजपुर नगरपालिका–९ फरहदवाका सात जना पुरुष र इशनाथ नगरपालिका तीन जना पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया