काँकडभिट्टा, जेठ ४ : झापाको कचनकवल–१ घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएको छ । शनिबार बेलुकी ८ बजेतिर आएका सय जनाजतिले पोस्ट भत्काएका हुन् ।
नेपाली सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर आएको समूहले पोस्टमा आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । ‘सुरक्षाकर्मी खाना खाएर फर्किंदा पोस्ट भत्काइँदै थियो’, उनले भने, ‘एक राउन्ड हवाई फायरपछि उनीहरू भागेका थिए ।’
नेपाली भूमिमा मकैखेती गरेका भारतीयले सिमा सिल गरिएपछि आउन नपाएका कारण आक्रमण गरेको हुन सक्ने रानामगरको भनाइ छ ।
कचनकवल–१ का वडाध्यक्ष लक्ष्मी यादवले बिहारको सुरिभिट्टातर्फबाट आएको समूहले आक्रमण गरेको जानकारी दिए । उनका अनुसार १२५ नम्बर सीमास्तम्भनजिक सशस्त्रको अस्थायी पोस्ट छ । पोस्ट भत्काउन आएका भारतीयको स्थानीयले पनि प्रतिकार गरेको वडाध्यक्ष यादवले बताए ।
घटनाबारे प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले शनिबार राति नै फेसबुकमार्फत भर्त्सना गरेका छन् । सुरक्षाकर्मीमाथि भारतीय नागरिकहरूबाट दोहोरिइरहेको आक्रमण गम्भीर रहेको उनले उल्लेख गरेका छन् ।
यसअघि वैशाख २३ मा पनि भारतीय समूहले झापा गाउँपालिकाको १३१ सीमास्तम्भनजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थियो । प्रजिअ रानामगरले घटनाबारे आइतवार बिहान भारतीय सुरक्षाकर्मीसँग छलफल हुने कान्तिपुरले जनाएको छ ।
भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर
दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।
सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५÷१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न एक राउण्ड हवाई फायर गरिएको बताउनुभयो ।
नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितरवितर भएका थिए । भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउनका लागि जबर्जस्ती गर्ने क्रममा झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो ।
एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो । भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।
यसैगरी डेढ साताअघि झापाको कचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए ।