स्वास्थ्यकर्मीको मनोबल बढाउन आग्रह

  जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग गर्न आग्रह मन्त्रालयका गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता देवकोटाले स्वास्थ्यकर्मीको मनोवल बढाउन सहयोग गर्न आग्रह गर्नुभएको हो ।

उहाँले विभिन्न सञ्चारमाध्यममा स्वास्थ्यकर्मीलाई घर भाडामा बस्न नदिने जस्ता कुरा सुन्नमा आएका भन्दै उहाँले स्वास्थ्यकर्मीको मनोबल घटाउने र असहयोग गर्ने, घरमा पस्न नदिनेलगायतका कार्य अवाञ्छिनीय भएकाले यस्ता कार्य नगर्नसमेत आग्रह गर्नुभयो ।

“हाम्रो जस्तो देशमा स्वास्थ्यकर्मीको सङ्ख्या नै न्यून रहेको छ, यस्तो न्यून सङ्ख्या रहेकामा उहाँहरुबाट नै सकेसम्म धेरैभन्दा धेरै स्वास्थ्य सेवा लिनुपर्ने हुन्छ, यो घडीमा उहाँहरुको मनोबल बढाउनुपर्दछ, सुरक्षित राख्नुपर्दछ”, मन्त्रालयका प्रवक्ता डा देवकोटाले भन्नुभयो ।

उहाँले पहिलो पङ्क्तिमा रहेका स्वास्थ्यकर्मीको परीक्षण गरिनेसमेत जानकारी दिनुभयो । मन्त्रालयले उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन गर्नेसम्बन्धी मार्ग निर्देशन २०७७ तयार पारेको छ । कोभिड–१९ का सङ्क्रमित र सम्भावित सङ्क्रमण राख्ने अस्पतालमा कार्यरत रहने सबै स्वास्थ्यकर्मीको खटनपटनका लागि उक्त अस्पतालको जिम्मेवारी कस्तो हुने, व्यवस्थापन गर्न आर्थिक स्रोत कसरी जुटाउने र काम गर्ने स्वास्थ्यकर्मी थप जोखिममा रहेकाले त्यो जोखिमको कसरी व्यवस्थापन गर्ने भन्ने उद्देश्यले यो कार्यविधि बनेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कार्यविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्स सबै कर्मचारीको व्यवस्थापन गर्न सहज हुनेछ । त्यसैगरी मानव अङ्ग प्रत्यारोपण केन्द्रमा रहेका छ वटा डायलासिस मेसिनलाई कोभिड–१९को सङ्क्रमण रहेका बिरामीका लागि छुट्याएर राखिने भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया