४० वर्षमाथिका नागरिकलाई अल्बुमिन, रक्तचाप तथा ग्लुकोज परीक्षण निःशुल्क

  जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : सरकारले ४० वर्षमाथिका नागरिकलाई ६ महिनाको एकपटक अल्बुमिन, रक्तचाप तथा ग्लुकोज निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रगतमा ग्लुकोज निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको बताउनुभएको हो ।

उक्त निःशुल्क परीक्षण वडा तहमा रहेका स्वास्थ्य संस्थाबाट हुनेछ । नेपालमा मिर्गौला, मुटु लगायतका नसर्ने रोग बढ्दै गएपछि सरकारले अल्बुमिन र रगतमा ग्लुकोजको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको हो ।

यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा केन्द्रीय स्तरमा तीनसय शय्याकाे अत्याधुनिक प्रयोगशालासहितको सरूवा रोग अस्पताल निर्माण गर्ने उल्लेख गरिएको छ । केन्द्रमा तीनसय बेडसँगै सात प्रदेशमा कम्तीमा ५० बेडको सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघमा तीनसय र प्रदेशमा ५० बेडको सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने प्रस्तावअनुसारकाे कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

यसैगरी, विमानस्थल, भारत र चीनका नाकाहरूमा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महामारीजन्य अवस्थाको निगरानी, पहिचान तथा नियन्त्रण गर्न त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र गौतम बुद्ध विमानस्थल, भैरहवामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हेल्थ डेस्क संरचना निर्माण गर्न मन्त्रालयले प्रस्ताव अघि बढाएको थियो ।

यस्तै, सरकारले सडक दुर्घटना हुने राजमार्गहरूमा ट्रमा सेवासहितको अस्पताल स्थापना गर्नेछ । शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा कान्ति बाल अस्पताललाई बाल रोगका विभिन्न विद्यामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पनि बाल मुटु रोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने छ ।

राष्ट्रपति भण्डारीले कोरोना परीक्षणको दायरा बढाउँदै देशलाई कोरोना मुक्त बनाउन कोरोना परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो । उहाँले देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको समेत उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया