गायक र अभिनेताको भूमिकामा रहेकाहरू

  असार ०५, २०८०

काठमाडौँ, ५ असार : नेपालमा गायक र अभिनेताको रूपमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या राम्रै छ । अर्थात् उनीहरूले आफ्नो कलाकारितालाई दुवै माध्यमबाट प्रस्तुत गरेका छन् । गायकहरूमा अभिनय मोह जागेको देखिन्छ भने नायकहरूमा पनि गायक बन्ने अभिलाषा पाइन्छ । यसको सुरुआत हिरा सिंह खत्रीद्वारा निर्देशित तथा २०२२ सालमा प्रदर्शित पहिलो नेपाली चलचित्र ‘आमा’ मै देखियो ।

अभिनेता शिव शङ्कर मानन्धर अभिनेता बन्नु अगाडि स्थापित गायक हुनुहुन्थ्यो । रेडियो नेपालमा स्थापनाकालदेखि नै गायकको रूपमा प्रस्तुत हुनुभएका उहाँले ‘मनको बाँध’, ‘कुमारी’, ‘२५ वसन्त’, ‘शान्तिदीप’लगायतका चलचित्रमा सङ्गीतसमेत दिनुभएको छ । यद्यपि उहाँ ‘आमा’ पश्चात अन्य चलचित्रमा अभिनेताको रूपमा प्रस्तुत हुनुभएन ।

यस्तै, उदाहरण बन्नुभयो उदीतनारायण झा । नेपालसँगै भारतमा समेत पार्श्व गायनमा लोकप्रिय झाले ‘कुुसुमे रुमाल’ मा अभिनय गर्नुभयो । यी प्रतिनिधि नाम मात्र हुन्, सङ्ख्या राम्रै छ । यसमै पर्ने गायक तथा अभिनेता कोसिस क्षेत्री कलालाई जुनै माध्यमले व्यक्त गर्दा पनि फरक नपर्ने बताउनुहुन्छ ।

“हामी कलाका विभिन्न विधामा रहेर काम गरिरहेका छौँ । यसले हामीलाई विविध क्षेत्रमा अभ्यस्तसमेत बनाउँछ”, अभिनेता क्षेत्रीले भन्नुभयो, “म एउटा पेसामा मात्र रहेर काम गर्नुभन्दा विभिन्न विधामा सक्रिय रहनुलाई सफलता मान्छु । यद्यपि हामी कलामै छौँ ।”

उहाँले चलचित्र निर्देशन, लेखन, ध्वनि मुद्रणलगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिसक्नुभएको छ । सङ्गीतकर्मी भएर पनि उहाँले गायकको जीवनलाई पर्दामा ल्याउन सक्नुभएको छैन ।

“मलाई अलि फरक र भिन्न देखिने इच्छा थियो । यसलाई ‘परस्त्री’ले पूरा गरेको छ”, उहाँले भन्नुभयो, “अब एउटा गायकको जीवनीलाई पर्दामा ल्याउन मन छ । एउटा सङ्गीतकर्मीले निकै आरोहअवरोहको सामना गरेको हुन्छ, त्यसलाई विविध कोणबाट प्रस्तुत गर्ने इच्छा छ ।”

अभिनेताका रूपमा परिचित भुवन केसी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसीलगायत अभिनयपछि गायक बन्नुभयो भने यसकुमार, बाबु बोगटी, निमा रुम्बा, रामकृष्ण ढकाल, प्रशान्त तामाङ, प्रकाश सपुत, सोनाम तोप्देन गायकका रूपमा परिचित भएपछि अभिनेता बन्नुभयो ।

तपाईको प्रतिक्रिया