काठमाडौं, ५ असार : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिनु भएको छ ।
मङ्गलबार १५ मिनेट स्थगित भई बसेको दोस्रो प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटी भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिनुभएको हो ।
यसअघि बसेको बैठकमा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढन नदिने अडान लिएका थिए ।
‘‘हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौं । सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरु खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यस अघि निर्देशन भइसकेको छ । साथै त्यस्ता कुनै त्रुटीहरु भएमा तत्काल सच्याउन म पुनः निर्देशन गर्दछु ।,’’
सभामुख घिमिरेले भन्नुभयो, ‘‘त्यसैगरी सभाको आजको कार्यसूचिमा रहेको सहरी विकास मन्त्रालयअन्तर्गत वार्षिक रुपमा सम्पादन हुने कार्यक्रमहरुको शीर्षकहरुमा प्रदेशको नाम हुनुपर्नेमा अङ्क उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरुले प्रश्न उठाइसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिबद्धता समेत व्यक्त गरिसक्नु भएकाले अङ्कको सट्टा प्रदेशको नाम राखी आवश्यकता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।’’
एमाले सांसदहरुले अवरोध गरेपछि यस अघि बसेको प्रतिनिधि सभा बैठकमा सहरी विकासमन्त्री सिता गुरुङले सो विनियोजन शीर्षकमा केही त्रुटी भए सच्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।