ललाईपकाई बालिका यौन शोषण गर्ने ३ पक्राउ, एक जना बेपत्ता

  जेठ ०२, २०७७

धनकुटा, जेठ २ : धनकुटामा एक बालिका यौन शोषण परेको रहस्य खुलेको छ । धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित थरकी बालिकालाई लामो समयदेखि माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने मदन अधिकारी, गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरले ललाईपकाई यौन शोषण गर्दै आएको खुलेको हो ।

ती बालिकाले अधिकारकर्मी र प्रहरीलाई दिएको बयानमा चार जनासँग पटकपटक यौन सम्पर्क गरेको खुलेको छ । उनीहरुमध्ये एक जनाले गएको चैत ३ गतेसमेत यौन सम्पर्क गरेको बताइएको छ । उनीहरुमध्ये देवेन्द्र, भक्तबहादुर र गौरी अत्रीलाई प्रहरीले पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले बताए । फरार अधिकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तर, ती बालिका गर्भवती भएपछि मात्रै चार जनाले बालिकालाई यौन शोषण गर्ने गरेको रहस्य खुलेको हो । बालिकाको पेट बढेपछि उनका परिवारका सदस्य र छिमेकीको सहयोगमा बिहीबार जिल्ला अस्पताल धनकुटामा जाँच गराउन लगिएको छ । अस्पतालमा जाँच गराउदा पाँच महिनाको गर्भ रहेको अस्पताल स्रोतले बताएको छ । गरिब परिवारकी ती बालिकालाई पैसा, कपडा, खाजाको लोभ देखाएर यौन शोषण गरेको बताइएको छ ।

बालिकामाथि यौन शोषणको आरोप लागेका चार जना नै ५० वर्षमाथिका हुन् । उनीहरुले सो घटना लुकाउन आफूहरुले बन्ध्याकरण गरिसकेको बताउने गरेका छन् । प्रहरीमा उजुरी गर्नुअघि पीडकले उजुरी नगर्न बरु पैसा दिएर मिलापत्र गराउन दबाब दिँदै आएका थिए । आरोपित चार जनाले पीडित बालिकाका बुवालाई प्रतिव्यक्ति तीन लाखका दरले उपलब्ध गराउने गरी मिलापत्रको प्रयास गरेका थिए ।

पीडक मदन अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविका शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रीय सदस्य थिए । देवेन्द्र श्रेष्ठले सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन् । गौरी अत्री र भक्तबहादुर मगर स्थानीय व्यवसायी हुन् ।

तपाईको प्रतिक्रिया