शिक्षण अस्पतालका ४९ स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

  जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोभिड–१९ संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ४९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । हाल बालिकालाई शिक्षण अस्पतालकै आइसोलेसन वार्डमा सारिएको छ ।

कपिलवस्तुकी ती बालिका ३ दिनअघि घाँटीको शल्यक्रियाका लागि अस्पताल आएकी थिइन् । बिरामी उच्च जोखिमको क्षेत्रबाट आएकाले उनको स्वाबको नमुना पीसीआर परीक्षणका लागि अस्पतालले पठाएको थियो । शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार ती बालिकालाई आइसोलेसन वार्डमा सारेपछि अस्पतालमा सेवा नियमित छ ।

अस्पतालको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले ती बालिकाको सम्पर्कमा आएका ४९ जना स्वास्थ्यकर्मी, बिरामी र कुरुवासमेत गरी ८३ जनाको घाँटीको र्‍यालको नमुना पीसीआर परीक्षण गर्न संकलन गरिएको छ । डा. दासले ४९ जना स्वास्थ्यकर्मीको अहिले पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आए पनि दुई सातासम्म क्वारेन्टाइनमै राखिने बताए । ‘उहाँहरूको स्वाब दुई सातापछि पुन: परीक्षण गर्छाैं,’ उनले भने ।

तपाईको प्रतिक्रिया