आर्थिक वृद्धिदर १ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

  जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : कोरोना (कोभिड–­१९) को संक्रमणका कारण यो वर्ष नेपालको आर्थिक वृद्धिदर १ प्रतिशत हाराहारीमा हुने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । यसअघिको आफ्नै प्रक्षेपण परिमार्जन गर्दै आईएमएफले यस्तो बताएको हो । लकडाउन र त्यसको असर लम्बिँदै गए वृद्धिदर अझै कम हुने आईएमएफले जनाएको छ ।

चालू आर्थिक वर्षको ९ महिनासम्मको तथ्यांकका आधारमा आईएमफले उक्त प्रक्षेपण गरेको हो । आईएमएफको आर्टिकल फोर २०२० ले यो वर्षको आर्थिक वृद्धिदर करिब साढे ६ प्रतिशत र केही साताअघि सार्वजनिक ‘विश्व आउटलुक’मा यस्तो वृद्धिदर साढे २ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो । आईएमएफको प्रक्षेपण नेपालको आफ्नै प्रक्षेपणभन्दा कम हो । केन्द्रीय तथ्यांक विभागले नेपालको वृद्धिदर २.२७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको थियो । सरकारले चालू आवका लागि साढे ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेको थियो ।

चालू आवमा नेपालको शोधनान्तर स्थिति ३ प्रतिशत ऋणात्मक (घाटा) मा रहने आईएमएफले जनाएको छ । यसअघिको आर्टिकल फोर प्रतिवेदनमा मुलुकको शोधनान्तर ऋणात्मक हुने भनिएको थिएन । शोधनान्तर दबाबमा जाने सम्भावना बढेको भन्दै सरकारले आईएमएफबाट करिब २६ अर्बबराबरको शून्य ब्याजदरको विशेष कर्जा र्‍यापिड क्रेडिट फेसिलिटी (आरसीएफ) सुविधा ल्याएको छ । सोही सुविधा दिएलगत्तै आईएमएफले शोधनान्तर ऋणात्मक हुने प्रक्षेपण गरेको हो । आरसीएफका लागि नेपालले गरेको आग्रहलाई आईएमएफ कार्यकारी समितिले गत बुधबार स्वीकृत गरेको हो । यस्तो सुविधा पाउने नेपाल ५०औं राष्ट्र हो । कोभिड­–१९ का कारण अर्थतन्त्र जोखिममा परेकाले यस्तो अवस्थामा आपत्कालीन वित्तीय सहयोगका रूपमा उक्त सुविधा दिने निर्णय गरेको थियो ।

यो वर्षका लागि नेपाललाई प्राप्त कोटा एसडीआर १ सय ५६.९ मिलियन बराबर कर्जा सुविधा नेपालले पाएको हो । सन् २०१५ पछि नेपालले पहिलोपटक आरसीएफ सुविधा पाएको छ । सामान्यत: आरसीएफ र ईसीएफमार्फत लिएको कर्जा बजेटरी खर्च गर्न पाइँदैन । तर अहिले आईएमएफले बजेटरी खर्चमा समावेश गर्न पाउने गरी सुविधा दिएको हो ।

मुलुकको शोधनान्तर घाटामा जाने प्रक्षेपण आईएमएफले गरे पनि राष्ट्र बैंकले अस्वीकार गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधिमा व्यवधान सृजना भए पनि आयात घटेकाले शोधनान्तर घाटामा जाने अवस्था नभएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘आयातमा कमी आएको छ, कम नै भए पनि रेमिट्यान्स पनि आइरहेको छ,’ उनले भने, ‘हालकै अवस्थामा शोधनान्तर घाटामा जाँदैन ।’

कोरोनाको कारण रेमिट्यान्स आप्रवाह घट्ने, पर्यटन क्षेत्रको वृद्धिदर उल्लेख्य घट्ने पनि आईएमएफले जनाएको छ ।

तपाईको प्रतिक्रिया