‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

  जेठ २६, २०८०

काठमाडौँ, २६ जेठ : शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।

अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शन भइरहेका छन् ।

फूलमान वलले निर्देशन गर्नुभएको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशक वलले बताउनुभयो । उहाँका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ ।

“भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटेर चलचित्र तयार गरेको छु । यो हाम्रो कथा र व्यथा बोकेको मौलिक स्वादको चलचित्र हो”, निर्देशक वलले भन्नुभयो ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । निर्देशक वल र सचिन घिमिरेको पटकथा लेखन रहेको चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

आज प्रदर्शन भएको अर्को चलचित्र हो, ‘वेलकम टु हेम्जाकोट’ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
रासस

तपाईको प्रतिक्रिया