भारतबाट फर्कने नागरिकमा ‘पुल’ परीक्षण विधि अपनाइने

  जेठ ०१, २०७७

विराटनगर, जेठ १ : भारतमा रेल सेवा सञ्चालनमा आएसँगै प्रदेश १ का नाकाबाट नेपाल आउने नागरिकको स्वास्थ्य परीक्षण कार्ययोजना तयार गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गरेको छ ।नाकाबाट १० हजार नागरिक प्रवेश गर्नसक्ने सम्भावना रहेको भन्दै उनीरूमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण परीक्षणका लागि कार्ययोजना तयार गर्न लागिएको हो ।

भारतमा रोजगारीमा गएका र तीर्थयात्राका लागि गएर उतै अलपत्र परेका नागरिक रेलसेवा सञ्चालनपछि नेपाल फर्कने बाटो खुलेको निष्कर्ष प्रदेश सरकारले निकालेको छ । यसरी प्रवेश गर्ने नागरिकलाई सम्बन्धित जिल्लासम्म पु¥याएर क्वारेन्टाइनमा राख्नेदेखि उनीहरूको स्वास्थ्य परीक्षणका लागि कस्तो तयारी गर्ने भन्ने विषयमा विज्ञ समूहले सुझाव पेश गर्नेछ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले यसरी भित्रने नागरिकको परीक्षण रिपोर्ट नआउँदासम्म घर फर्काउन नसकिने बताउनुभयो । शुक्रबार मन्त्रालयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच सम्मिलित छलफलमा आगामी दश दिनभित्रमा १० हजार नागरिकको परीक्षण गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

भारतबाट फर्कने नागरिकलाई सम्बन्धित जिल्लामा लगेर समूहगत (पुल) परीक्षण गरिने विधि प्रयोगमा ल्याउने सकिने सम्भावना रहेको छ । पीसीआर किट अभावमा दश जनासम्म एकैपटक परीक्षण गरेर नेगेटिभ देखिए पुनः परीक्षण गर्नै नपर्ने र पोजेटिभ देखिए पुनः परीक्षण गर्ने विधि अपनाउन सकिने बताइएको छ ।

कोरोनाभाइरस सङ्क्रमण शङ्कास्पदको अहिलेसम्म हट स्पट र कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट परीक्षण हुँदैआएको छ । पुलिङ विधि अपनाउँदा त्यसले परीक्षणको दायरा बढाउने मात्रै नभई खर्चसमेत कम लाग्ने बताइएको छ ।

मन्त्रालयले हट स्पट, कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न गठन गरेको सात सदस्यीय विज्ञ टोलीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. वसुधा खनाललाई संयोजक तोकेकाे छ ।

उहाँको संयोजकत्वमा डा. सुरेश मेहता, जयवेन्द्र यादव, डा. कमाना शर्मा, डा. सन्तोष काफ्ले, केशव राई र सदस्य सचिवमा डा. नारायण भट्टराई रहनुभएको सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया