महामारीमा सुरक्षितरुपमा व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक

  जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड–१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभयो । सो अवसरमा उद्योगमन्त्री भट्टले यस पुस्तकले आर्थिक गतिविधि सुचारु गर्न, श्रमिकलाई सुरक्षित माध्यमबाट काममा फर्किनेवातावरण तयार गर्न सहयोग पुग्ने बताउँदै यसबाट अर्थतन्त्र क्रमशः स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेको चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले विदेशबाट फर्किएर आएका नेपालीलाई पनि कृषि पेशामा आर्कषण गर्नुपर्ने बताउनुभयो ।

कोभिड–१९ महामारीमा स्वास्थ्य सुरक्षा नै ठूलो चुनौती हो भन्दै मन्त्री भट्टले अन्तर मन्त्रालय समन्वय गरी कसरी सुरक्षा अपनाउने र उद्योग व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो । कार्यक्रममा श्रममन्त्री यादवले जोखिम न्यूनीकरण गरी उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सके यसले उत्पादन तथा रोजगारी सञ्चालन भई आम जनजीवन सामान्य अवस्थातर्फ अघि बढ्ने बताउनुभयो । उहाँले बन्दाबन्दीले दैनिक ज्यालादारी गरी खाने श्रमिकलाई असर परेको बताउनुभयो ।

एनबिआईका अध्यक्ष कुशकुमार जोशीले सुरक्षित वातावरणमा उद्योग सञ्चालनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) लगायत निकायले तोकेको मापदण्ड पालना गरी काम कसरी चलाउने तथा मजदूरको स्वास्थ्यमा कसरी ध्यान दिने भन्ने कुरा पुस्तकमा समावेश गरिएको बताउनुभयो ।

आइएलओका नेपाल निर्देशक रिचार्ड होवाडले एनबिआइसँगको सहकार्यमा अत्यन्त उपयोगी पुस्तक तयार भएकामा खुशी व्यक्त गर्दै विश्वव्यापी सङ्कटको अवस्थामा उत्पादन तथा रोजगारी अभिवृद्धिमा पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया