थलिएको अर्थतन्त्र सुधार गर्ने कार्यक्रम ल्याउन सुझाव

  बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलार्ई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम जरुरी रहेको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराउनुभएको छ । महामारीलाई मध्यनजर गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष राहत प्याकेज ल्याउन, प्रभावकारी कार्यान्वयन प्रणाली लागू गर्न तथा रोजगारी प्रदान गर्ने गरी विशेष व्यवस्था गर्न सांसदहरुको आग्रह थियो ।

कोरोनाका कारण मुलुकको समग्र स्वास्थ्य क्षेत्र नै समस्यामा परेको सन्दर्भलाई जोड्दै उहाँहरुले प्रभावकारी भौतिक पूर्वाधारसहितको स्वास्थ्य संस्था तथा जनशक्तिको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । कारोनाका कारण विदेशमा रोजगारी खोसिएका नेपाली नागरिकलाई देशभित्र फर्काएर उनीहरुलाई आधुनिक कृषि उद्यममा जोड्नुपर्ने र आत्मनिर्भरताको मार्गमा अगाडि बढाउनुपर्ने सांसदको भनाइ थियो ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा कतिपय अस्पताल र एम्बुलेन्सले हेलचेक्र्याइँ गरेको पाइएकाले त्यस्ता क्रियाकलाप आगामी दिनमा दोहोरिन नहुनेमा जोड दिँदै उहाँहरुले बर्खायामको पूर्वसन्ध्यामा सम्भावित विपद् व्यवस्थापनका लागि थप तयारी गर्न सरकारले बेलैमा प्रभावकारी कदम चाल्न सुझाउनुभएको छ ।

उहाँहरुले विदेशमा अलपत्र नेपालीलाई सुरक्षा मापदण्डसहित नेपाल ल्याउने पहल गर्न अनुरोध गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै उहाँहरुले कार्यान्वयन हुने बजेट नै मुलुकको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले भारतलगायत विदेशी मुलुकमा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिडका सङ्क्रमित बढिरहेका पर्साको वीरगञ्जलगायत क्षेत्रमा आवश्यक स्वास्थ्य पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्नुभयो । कर्णले भन्नुभयो, “विदेशबाट फर्कने ठूलो सङ्ख्याका श्रमिकलाई व्यवस्थापनका लागि पनि सरकारले बजेटमा कार्यक्रम समेट्नुपर्छ । उनीहरुलाई कृषि उत्पादन, पशुपालनलगायत क्षेत्रमा आबद्धता गराइनुपर्छ ।”

सांसद सीतादेवी यादवले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्दै यसको जोखिमबाट नागरिकलाई सुरक्षित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिन जरुरी भएको बताउनुभयो । उहाँले कोडिभ–१९ परीक्षणको दायरा बढाउन आवश्यक स्रोतसाधन सम्पन्न बनाउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । यादवले जोखिम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतको पिसीआर विधिबाट स्वास्थ्य परीक्षण गरी जीवन बीमाको व्यवस्था गर्न समेत सरकारसमक्ष माग गर्नुभयो ।

सांसद विमलप्रसाद श्रीवास्तवले कृषि उत्पादनलाई बढोत्तरी हुनेगरी आगामी आवको बजेट नीति तथा कार्यक्रम समेटिनुपर्ने बताउनुभयो । उहाँले तरकारी तथा फलफूलजन्य वस्तुको परनिर्भरतालाई निरुत्साहित गर्न पनि कृषि उत्पादनलाई प्रोत्साहन गर्नेजस्ता विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रामकुमारी चौधरीले कोभिडको परीक्षण दायरा द्रुतगतिमा बढाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले कोभिडको सम्भावित जोखिम नियन्त्रणका लागि तीन तहका सरकारले समन्वय गरी आवश्यक व्यवस्थापकीय काम गर्नुपर्ने बताउनुभयो । नेपाललाई कृषिमा आन्तनिर्भरतातर्फ उन्मुख गराउन कम्तीमा १० देखि १२ प्रतिशत बजेट विनियोजन गर्न उहाँले माग गर्नुभयो ।

सांसद पुष्पा भुसाल कोभिड–१९ को महामारीबाट असुरक्षित बनेको नागरिकको स्वास्थ्य र शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्कटमा परेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीतिगत र व्यवहारिक बजेट आउनुपर्छ । प्रशासनिक क्षेत्रमा रहेको फजुल खर्चलाई कटौती गरी प्राथमिकतायुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्नेतर्फ बजेटमा विषयवस्तु समेट्नुपर्छ ।” उहाँले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगलगायत विषयलाई बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

‘सीमामा काँडेतार लगाऔँ’
सांसद मनकुमारी जिसीले विगत लामो समयदेखि नै भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेकाले सरकारले राजनीतिक तथा कूटनीतिक प्रयास गरी समस्याकोे दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिनुभयो । सांसद भैरवबहादुर सिंहले भारतले सीमा क्षेत्रमा निरन्तर अतिक्रमण गरेकाले नेपाली भूमि फिर्ता गर्न तत्काल पहल गर्न, नयाँ सीमास्तम्भ बनाइ काँडेतार लगाउन र सुरक्षाका लागि नेपाली सेनालाई जिम्मेवारीमा खटाउन सरकारलाई आग्रह गर्नुभयो ।

सांसद जुलीकुमारी महतोले नेपाल–भारत सीमा क्षेत्रको विवादलाई दीर्घकालीन समाधानका लागि सीमामा काँडे तारबार वा पर्खाल लगाउन जरुरी भइसकेको धारणा राख्नुभयो । सांसद प्रेमबहादुर आलेले सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिँदै सीमा क्षेत्रको सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न आग्रह गर्नुभयो ।

सांसद सञ्जयकुमार गौतमले सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको सेवासुविधामा ध्यान नदिएको र प्रधानमन्त्रीले सीमा क्षेत्रमा सडक बनेको विषय थाहा नभएको भन्दै दिएको प्रतिक्रिया दुःखद् भएको उल्लेख गर्दै राष्ट्रियताको सन्दर्भमा सबै नेपाली एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा सरकारी उदासिनता देखिएको औषधि, उपकरण खरिदमा अनियमितताजस्ता गतिविधि बढ्नुले सुशासन र पारदर्शितामाथि नै प्रश्न उठेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया