काठमाडौं, वैशाख ३० : अफगानिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसको कारणले आर्थिक संकट चुलिएको भन्दा प्रशिक्षकको तलबमा कटौती गर्ने भएको छ । बोर्डको निर्णयले प्रमुख प्रशिक्षक लान्स क्लुजनर, ब्याटिङग प्रशिक्षक एचडी एकरमन्न र सहायक प्रशिक्षक नवरोज मंगलको आय प्रभावित हुनेछ ।
क्रिकेट बोर्डका कार्यकारी प्रमुख लुत्फुल्लाह स्टानिक्जैले मई महिनामा २५ प्रतिशतले तलब कटौती गर्ने निर्णय गरिएको प्रष्ट्याउनुभयो । उहाँले क्रिकेटको गतिविधि जुनमा समेत सुरु नभए तलब कटौती प्रतिशत पचाससम्म पुर्याउने जानकारी दिनुभयो । आर्थिक अवस्थाले अनुमति दिएसम्म प्रशिक्षकलाई मुक्त नगर्ने उहाँले खुलाउनुभयो ।
अफगानिस्तानले जुन महिनामा जिम्बाबवे विरुद्ध पाँच म्याचको टी ट्वान्टी श्रृखंला खेल्ने तय गरिएको छ । कोभिड–१९ को संक्रमणले उक्त तालिका समेत प्रभावित हुने जोखिम बढेको छ भने अफगानिस्तानको क्रिकेट सत्र बमोजिम त्यसपछि उसले एशिया कप खेल्ने निर्धारित छ । उहाँले आगामी चरणमा क्रिकेट बोर्डले खेलाडीको तलब समेत कटौती गर्नेबारे छलफल चलाएको जानकारी दिनुभयो । अफगानिस्तान बार्डले ३२ वरिष्ठ र ५५ घरेलु खेलाडीलाई अनुबन्धनको आधारमा तलब दिदै आएको छ ।
अफगानिस्तान सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पूर्ण सदस्यको मान्यता पाएको हो । जस बापत् आईसीसीबाट उसले सन् २०१६–२०२३ सम्मको क्रिकेट सत्रका लागि चार करोड अमेरिकी डलर अनुदान पाउनेछन् । उक्त अनुदानमा समेत कटौती भएको छ । अफगानिस्तानले सन् २०२० का लागि आईसीसीबाट ४८ लाख अमेरिकी डलर पाएको छ । विश्वब्यापी लकडाउनको प्रभावले अफगानिस्तानी क्रिकेटरका पोशाकको प्रायोजक टाइकाले सम्झौता तोडिसकेको छ । बोर्डको कुल खर्चको १५ प्रतिशत सरकारले अनुदान दिदै आएको छ ।
क्लुजनर र एकरमन्न सेप्टेम्बर २०१९ देखि सन् २०२० सम्मको अवधिका लागि प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्छ । आईसीसीले महामारी सुरु भए लगत्तै आफ्नो सदस्य राष्ट्रसँग संकटकालीन आर्थिक अनुदानको प्रस्ताब गरेको थियो । अफगानिस्तान बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट पूर्णरुपमा बन्द भएको अवस्थामा तात्काल आर्थिक सहायताको आवश्यकता नरहेको जनाएको छ ।