कालापानी क्षेत्रमा सशस्त्रको बीओपी स्थापना

  बैशाख ३१, २०७७

धनगढी, वैशाख ३१ : दार्चुलाको कालापानीभन्दा १३ किलोमिटर वर व्यास गाउँपालिका–१ गागामा स्थापना हुन लागेको बोर्डर आउट पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिने भएका छन् ।

दार्चुला समाचारदाताका अनुसार बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापाको नेतृत्वमा बुधबार बिहान प्रहरी टोली आउन लागेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विष्टले बताउनुभयो ।

बीओपी स्थापना गर्दा छ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरू खलङ्गामा तयारी अवस्थामा राखिएको छ । गत मङ्सिर महिनामा नेपाल सरकारले छाङ्रुमा बीओपी राख्ने निर्णय गरे पनि हिमपात र बन्दाबन्दीका कारण ढिलाइ भएको थियो । छाङ्रुमा भौतिक संरचना निर्माण गर्न समय लाग्ने भएकाले तत्काल गागास्थित स्थानीयको घर भाडामा लिएर बीओपी स्थापना गरिने प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो ।

छाङ्रुमा सशस्त्रको बीओपी स्थापना गर्न नेपाल सरकारले विनियोजन गरेको ११ करोड रुपियाँको बजेटमा जेठको पहिलो साता टेन्डर गरेर काम सुरु गर्ने तयारी गरिएको छ । स्थानीयले भने छाङ्रुमा भन्दा कालापानी वा कौँवामा राज्यको उपस्थिति गराउन माग गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले तत्काल कालापानीनजिक कौँवा क्षेत्रमा नेपाली सेना र सशस्त्रको बीओपी राखे अतिक्रमित भूमिको निगरानी गर्न सजिलो हुने बताउनुभयो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सिमाना जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि सरकारले तत्काल कालापानी क्षेत्रमा सशस्त्र प्रहरी खटाउन लागेको जनाएको छ । सन् १९९९ देखि भारतले चीनको तिब्बत जोड्ने उद्देश्यले तावाघाटदेखि द्रुत गतिमा सडक निर्माण गर्न थाले पनि नेपालतर्फको भने २०६५ सालदेखि निर्माणाधीन दार्चुला–तिङ्कर सडकले अझै गति लिन सकेको छैन । नेपाल सरकारले नेपाली सेनामार्फत निर्माण गर्ने निर्णय गरे पनि काम सुरु भएको छैन ।

भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडकलाई तीव्रता दिन अन्तर्राष्ट्रिय कानुन र नेपालको सहमतिविपरीत दुई वर्षदेखि तम्बाकु, घाटिबगरलगायत नेपाली भूमिमा सडक र काठेपुल निर्माण गरेर स्काभेटर र मजदुरलाई आवतजावत गराउँदै आएको भए पनि समयमै नेपाल सरकारले कूटनीतिक पहल गर्न नसक्दा नेपाली भूमिमा सडक निर्माण गरेर चार सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गर्न सफल भएको छ ।

नेपालमा अतिक्रमित भूमि फिर्ताको आवाज उठिरहँदा कालापानी क्षेत्रमा भारतीय पक्षबाट दैनिक चार-पाँचपटक हवाई निरीक्षण भइरहेका छन् । अहिले दार्चुलाको उत्तरी सीमा मानव बस्तीविहीन छ । सीमा जोड्ने सडक निर्माणमा भएको ढिलाइ र राज्यको कमजोर उपस्थितिको मौका छोपेर भारतले सीमा अतिक्रमण गर्दै आएको छ । अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि नेपालले अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने र सीमाक्षेत्रसम्म तत्काल सडक र नियमित सुरक्षा उपस्थिति गराउनुपर्ने स्थानीयको माग रहेको छ ।

हावाहुरीले ५४ घरमा क्षति

धनगढी समाचारदाताका अनुसार कैलालीमा आएको हावाहुरीले ५४ वटा घरमा क्षति गरेको छ । आइतबार अपराह्न आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानका घरमा क्षति गरेको हो । कालो बादलसँगै कैलाली, कञ्चनपुरमा आएको हावाहुरीले दिनमै अँध्यारो भएको थियो ।

हावाहुरीपछि वर्षा भएको थियो । गत वर्ष जेठ २३ गते आएको हावाहुरीले ठूलो क्षति गरेका कारण आइतबार हावाहुरी चल्न थालेपछि स्थानीय त्रसित बनेका थिए । कोरोना शङ्क्रमणले त्रसित पारेको बेला हावाहुरीले टीकापुर नगरपालिकामा सबैभन्दा बढी क्षति गरेको छ । सो नगरपालिकाको वडा नम्बर ६ स्थित प्रसेनी, भगवानपुर, बेलुवाबोझी र ओखरपुरमा हावाहुरीले ५० घरमा क्षति पु¥याएको रेडक्रस प्रतिनिधि तुप केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हावाहुरीले केही स्थानीयको घरलाई पूर्ण रूपमा क्षति गरेको छ । यसैगरी, केही स्थानीयको घरसहित खडक आधारभूत विद्यालयको छानासमेत उडाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हावाहुरीले धनगढी उपमहानगरपालिकास्थित जुगेडामा तीनवटा घरको छाना उडाएको छ । यस्तै, मोहन्याल गाउँपालिकास्थित पण्डौनमा रहेको प्रहरीचौकी भवनको पनि छाना उडाएको छ । जिल्लामा हावाहुरीले गरेको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

सेती अस्पतालमा ओपीडी सेवा सुरु
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि बहिरङ्ग (ओपीडी)सहित सबै सेवा फेरि सुरु गरिएको छ । कोरोना भाइरसबाट त्रसित जनजीवन सामान्य बन्न थालेपछि अस्पतालले स्थगन गरेका सबै सेवा सुरु भएको हो । चैत ११ गतेबाट बन्दाबन्दी सुरु भएपछि ओपीडी, गर्भपतन, खोपलगायतका सेवा अस्पतालले स्थगित गरेको थियो ।

सरकारले अब सम्पूर्ण सेवा सुरु गर्नका लागि परिपत्र गरेपछि झन्डै दुई महिनासम्म स्थगित ओपीडी, गर्भपतनलगायत सम्पूर्ण सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । ‘खोप सेवा त वैशाख १२ गतेबाटै सुचारु भइसकेको थियो,’ उहाँले भन्नुभयो, ‘बाँकी सबै सेवा आजबाट सुरु भएको छ ।’

कोरोना भाइरसबाट जोगिनका लागि बन्दाबन्दी गरेसँगै सरकारले अस्पतालमा ओपीडीलगायतका सेवा स्थगित गर्न निर्देशन दिएको थियो । सरकारी अस्पतालमा सेवा स्थगित भएपछि निजी अस्पतालमा सेवाग्राहीको चाप बढेको थियो ।  

तपाईको प्रतिक्रिया