‘नीति तथा कार्यक्रमका सबल पक्षलाई आत्मसात् गर्नुपर्छ’

  जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले यसको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने धारणा राख्नुभयो भने प्रतिपक्षी सांसदले नीति तथा कार्यक्रमले मुलुकको वर्तमान समस्या समाधान गर्न नसक्ने जिकिर गर्नुभयो ।

छलफलमा भाग लिँदै सांसद प्रमिला कुमारीले बजेटमा जनपक्षीय सबल पक्षको बाहुल्यता रहेको र नीति कार्यक्रमले जनतामा आशा देखाएको बताउनुभयो । उहाँले नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुने, उत्पादन र रोजगारीमा वृद्धि भई स्वाधीन, सबल र समाजवादउन्मुख अर्थतन्त्र निर्माण हुने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भ स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो ।

“स्थानीय र प्रदेशलाई मजबुद बनाउन वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुने, खर्च आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय हस्तान्तरण हुने, बजेटमा पूँजीगत खर्च वृद्धि हुने, नीति अनुन्धानमा रहेको दोहोरोपन हटाइने, सार्वजनिक क्षेत्रमा हुने अनावश्यक खर्च कटौती, किसान पेन्सनको अवधारणा अगाडि बढाइने विषय सकारात्मक छन्”, उहाँले भन्नुभयो ।

सांसद सिंगबहादुर विश्वकर्माले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुलुकको विकास र समृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योगलाई सञ्चालन गरिने, ८० को दशकलाई पर्यटन दशकका रुपमा मनाइने, केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गरिने विषय सकारात्मक भएको बताउनुभयो ।

सांसद तुलप्रसाद विश्वकर्माले नाजुक दिशामा अगाडि बढिरहको अर्थतन्त्रलाई सही मार्गमा ल्याउन नीति तथा कार्यक्रमले नसक्ने जिकिर गर्नुभयो । सङ्घीयताबाट चालु खर्च धान्न नसक्ने अवस्थामा पुगेको भन्दै पूर्वाधार निर्माणको खर्च कहाँबाट जुटाउने हो भनी प्रश्न गर्नुभयो ।

सांसद रामचन्द्र राईले मुलुकको आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । रासस

तपाईको प्रतिक्रिया