काठमाडौं, १ जेठ : साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि सहज जित निकाल्दा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा सोमबार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ३-० गोलले हरायो । दशरथ रंगशालामा भएको अर्को खेलमा शेर्पा र संकटाले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
मच्छिन्द्रको जितमा सबै गोल विदेशी खेलाडीबाट सम्भब भयो । मच्छिन्द्रका लागि ओलावालेले दुई तथा आन्द्रेस नियाले एक गोल गर्नुभयो । आन्द्रेसले ४२औं मिनेटमा खाता खोल्नुभएको थियो । अफिजले ७७औं र ८७औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई जिताउनुभयो । जितसँगै मच्छिन्द्रले १८ खेलबाट ३० अङक बनाएको छ । पराजित खुमलटारको समान खेलबाट १७ अङ्क छ ।
यस्तै दशरथ रंगशालामा भएको खेलमा संकटा पेनाल्टीमार्फत बराबरी गोल गर्दै हारबाट जोगिएको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता शेर्पाले लिएको थियो । ५०औं मिनेटमा शेर्पाका म्यानुएल नानाले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो ।
त्यसपछि ७२औं मिनेटमा संकटाका आयुष घलानले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो । विपक्षी सुशील राईले आयुष घलानलाई डिबक्स भित्र डलाएपछि संकटाले पेनाल्टीको मौका पाएको थियो । बराबरीसँगै हिमालयन शेर्पाले १८ खेलबाट २२ अङ्क बनाएको छ । संकटाको समान खेलबाट २१ अङ्क पुगेको छ । (गोरखापत्र)