डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

  बैशाख ३१, २०८०

सुदूरपश्चिम, ३१ वैशाख : डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ ।

उक्त गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा यो रोगले प्रभावित भएको जनाएको छ ।

पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तगडा गाउँका पखालाबाट पीडित आठ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “झाडापखाला देखिएपछि यसको रोकथामका लागि पानी शुद्धिकरण गरेर उपभोग गर्ने व्यवस्था गर्न लागिएको छ, प्रभावित अन्य बिरामीको गाउँमै खटिएको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ ।”

यसबाहेक जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा परिचालन गरिएको छ । खानेपानीको मुहान प्रदूषित भएका कारण पखालाको समस्या देखिएको जनाइएको छ । खानेपानी प्रदूषित भएकाले पखाला फैलिएको जनाइएको छ । पखाला लागेमा लगातार पखाला लागिरहने, बान्ता आउने, ज्वरो आउने र शरीरमा पानीको मात्र कम भई (जलवियोजन) बिरामीको मृत्यु हुन सक्छ । (रासस)

तपाईको प्रतिक्रिया