दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु

  बैशाख ३०, २०८०

दार्चुला,  ३० वैशाख : दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ । शनिबार विहान मालिकार्जुन गाउँपालिका –८ चस्कोट बस्ने अन्दाजी ४० वर्षीय जयराम लुहारको घरनजिकैको भिरबाट लडेर ज्यान गएको हो ।

घटनाको अनुसन्धानका लागि मालिकार्जुन प्रहरी चौकी र गोकुलेश्वर इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटेको छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

यसैबीच आज बिहान साढे ८ बजे महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शवको अहिलेसम्म परिचय खुल्न नसकेको प्रहरीको भनाइ छ । अन्दाजी ३० देखि ३५ वर्षको पुरुषको शव महाकालीमा फेला परेपछि सो स्थानमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

शव महाकाली नदीबाट निकाली शवको मुचुल्कासहितको प्रारम्भिक अनुसन्धान सुरु गरिएको र शव जिल्ला अस्पताल दार्चुलाको शवगृहमा राखिएको उहाँले बताउनुभयो । (गोरखापत्र)

तपाईको प्रतिक्रिया