बाँके, वैशाख २९ : नेपालगञ्जमा कोरोना सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्गको काम सकिएपछि समुदायस्तरमा पनि परीक्षण सुरु गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले सङ्क्रमित व्यक्तिहरूकाे कन्ट्याक्ट ट्रेसिङ्गकाे काम सकिएको जानकारी दिनुभयो ।
कायार्लयका अनुसार सोमबार दिउँसोसम्म ९७१ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएकाे छ । त्यसमध्ये ३०२ जनाको पीसीआर जाँचको नतिजा आउन बाँकी रहेको छ ।
अहिले स्थानीय तहको समितिको सिफारिस र जिल्ला स्तरीय समितिको निर्णयका आधारमा सङ्क्रमण क्षेत्रबाहिर पनि स्वाब सङ्कलन सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकलपर्सन श्रेष्ठले भन्नुभयो,– नेपालगञ्जका ग्रामिण क्षेत्रबाहेक कोहलपुर र खजुरामा पनि स्वाब सङ्कलन भएको छ ।
यसैबीच, नेपालगञ्जमा कोरोना सङ्क्रमित देखिएका सबै २४ जनालाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ । भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डा. पारस श्रेष्ठले सङ्क्रमितहरूमा हालसम्म कुनै पनि लक्षण नदेखिएको जानकारी दिनुभयो ।