काठमाडौँ, वैशाख २९ : कोरोनाको आशङ्कामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको नमूना परीक्षण गरिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म पिसिआर र आरडिटी गरी ७६ हजार ३ सय ५५ जनाको कोरोनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १७ हजार ८ सय जनाको पिसिआर र ५८ हजार ५ सय ४६ जनाको आरडिटीबाट परीक्षण भएको जानकारी दिनुभयो ।
हालसम्म नेपालमा १२१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३३ जना उपचारपछि डिस्जार्च भइसकेका छन् । दुईजना आइतबार साँझ डिस्चार्ज भएका हुन् ।
देवकोटाले कोरोनाको आशङ्कामा काठमाडौँ उपत्यकामा एक र बाहिर एक सय ५२ गरी १५३ जना अस्पतालको आइसोलेसनमा रहेको बताउनुभयो । उहाँले १२ हजार ७०१ जना क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।
उहाँले सबैभन्दा धेरै सङ्क्रमित प्रदेश नम्बर ५ मा देखिएको देखिएको बताउनुभयो । त्यहाँ ४० जना सङ्क्रमित छन् । यस्तै प्रदेश नम्बर १ मा ३५,प्रदेश नम्बर २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र सुदुरपश्चिममा ५ जनालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
वीरगञ्जमा २८, विराटनगरमा १९, रुपन्देहीमा १६, नेपालगञ्जमा २४ र भरतपुरमा १ गरी ८८ जना सामान्य अवस्थामा उपचाररत हुनुहुन्छ ।