कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण, संक्रमित १ सय २० पुगे

  बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य  प्रयाेगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तु यशाेधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८,१९, २०,२०, २४, ३०,३१,३४,३४ वर्षीया पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेकाे मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ । उहाँहरूकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे र उहाँहरू  स्वास्थ्यकर्मीकाे सम्पर्कमा हुनुहुन्छ ।

हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, रुपन्देही र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।  

तपाईको प्रतिक्रिया