करेन्टले हात जलेका बालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने

  बैशाख २८, २०७७

सिमकोट, वैशाख २८ : करेन्ट लागेर दुवै हात काम नलाग्ने बालक भक्तराज बुढाथोकीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले निःशुल्क रुपमा उपचार गर्ने भएको छ । आर्थिक अभावले जिल्ला अस्पतालले रिफर गरेको भएपनि बन्दाबन्दीमा थप उपचार गर्नभन्दा पनि गाउँमा लगिएका बालक बुढाथोकीको अवस्थालाई मध्यनजर राख्दै प्रतिष्ठानले निःशुल्क उपचार गर्ने भएको हो ।

सो सम्बन्धमा गोरखापत्रअनलाइनमा प्रकाशित समाचार पढेर प्रतिष्ठानका चिकित्सक डा. मगंल रावलले निजको निःशुल्क उपचार गर्ने फेसबुकमा प्रतिक्रिया दिनुभएपछि हेलिकप्टरबाट उद्धार भएको हो । घाइते बालक अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इमरजेन्सीमा भर्ना गरिएको र उहाँको अप्रेशनको तयारी भइरहेको प्रतिष्काठानका निर्देशक डा. मङ्गल रावलले बताउनुभयो ।

दुवै हातका मासु अप्रेशन गरेर फाल्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । बालकलाई सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट आईतबार बेलुका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले जुम्लासम्म हेलिकोप्टरमा आफूसँग उद्धार गर्नुभएको थियो । उहाँ कोरोना सङ्क्रमणविरुद्ध परिचालन हुने चिकित्सक र किट लिएर सर्केगार्ड जानुभएको थियाे ।

बालक सर्केगार्ड गाउँपालिका वडा नम्बर ६ को बराई गाउँनिवासी हुन् । गाउँपालिकामा रहेको तल्छडी जलविद्युुत योजनामा बिहान र बेलुका मात्र बत्ती सुचारु हुने भए पनि गाउँपालिकाको कार्यक्रम भन्दै दिउँसो विद्युुत छोडिएको र बन्दाबन्दीले विद्यालय बन्द हुँदा गाई चराउन गएका सात वर्षका बालक बुढाथाेकीको विद्युतको तार छुने क्रममा करेन्ट लागेको थियो । घटनाको चार दिनपछि वैशाख २ गते जिल्ला अस्पतालमा ल्याएर उपचार गरिए पनि जिल्लामा उपचार हुन नसक्ने निष्कर्षमा अस्पताल पुगेको थियो ।

तपाईको प्रतिक्रिया