‘जारी सुन्दर प्रस्तुति’ : संस्कृतिमन्त्री किराती

  बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र ‘जारी’ हेर्नुभएको छ ।

सोमबार बेलुका कमलपोखरीस्थित एक चलचित्र भवनमा सो सकिएपछि उहाँले निर्माण समूहलाई मौलिक कथालाई पर्दामा ल्याएको भन्दै धन्यवाद र बधाई दिनुभयो । “मूल्यमा बाँचेको समाज र संस्कृति, क्रमशः कृत्रिम हुँदै गएको सम्बन्धलाई मौलिकतामा फर्काउने जीवन र जगत्को सुन्दर प्रस्तुति हेरियो”, मन्त्री किरातीले भन्नुभयो ।

चलचित्र हेर्दा उहाँ भावुक हुनाका साथै आफूलाई असाध्यै राम्रो लागेको भन्दै गाउँगाउँमा लगेर देखाउन सुझाव दिनुभएको निर्माता मणिराम पोखरेलले जानकारी दिनुभयो । “मन्त्री किरातीले बालापनमा लगेको, त्यही संस्कृतिमा हुर्किएको बताउनुभएको थियो । हामीले हरेक वर्गको दर्शकमार्फत यस्तै प्रतिक्रिया पाइरहेका छौँ”, निर्माता पोखरेलले भन्नुभयो ।

यही वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्र ‘जारी’ लाई कवि उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको हो । लिम्बू समुदायमा रहेको जारी प्रथा र विवाह संस्कृतिको कथा देखाइएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया