यथार्थमा आधारिक बजेट ल्याउन सांसदको माग

  बैशाख २८, २०७७

काठमाडौं, वैशाख २८ : कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको, रोजगारीको अवसर गुमेको तथा वैदेशिक रोजगारीमा गएका समेत घर फर्कने वातावरण नभएकाले समग्र अवस्थालाई ध्यान दिइ आगामी आर्थिक वर्षको बजेट ल्याउन सांसदहरुले माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै सांसदहरुले यथार्थमा आधारित बजेट अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । कृषिमा आत्मनिर्भर हुने वातावरण कोरोनाले तयार पारेको भन्दै उहाँहरुले साना तथा मझौला उद्योगको प्रवद्र्धन, भौतिक पूर्वाधारको विकास तथा स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखी विपद्सँग जुध्ने कार्यक्रम जरुरी रहेको उहाँहरुको भनाइ थियो ।

सांसद परशुराम मेघी गुरुङले बजेट जनताको जीविकासँग जोडिएको कानून र राजनीतिक दस्तावेज पनि भएकाले यसलाई प्रभावकारी कार्यान्वयन हुने गरी विषयवस्तु समेटिनुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलसँग आगामी बजेटमा समटेनिुपर्ने विषयबारे सरकारले लिखितरूपमै धारणा माग्नुपर्नेमा पनि ध्यानाकर्षण गराउनुभयो । विगतको अभ्यासमा बजेटमा राम्रा कुरा समावेश भए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको भन्दै आगामी बजेट महत्वाकाङ्क्षीभन्दा पनि कार्यान्वयनमुखी हुनुपर्ने बताउनुभयो ।

सांसद रमेशजङ्ग रायमाझीले कोभिड–१९ को महामारीपछिको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने गरी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो । पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवका आयोजनालाई शीघ्र सम्पन्न गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद दिलकुमारी रावलले बजेटमा कृषि उत्पादनलाई प्रोत्साह गर्दै व्यवस्थित शहरीकरण, भूमि व्यवस्थापन र उपभोगसम्बन्धी विषयलाई समेटिनुपर्ने बताउनुभयो । उहाँले कोभिडका कारण थलिएको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने, आन्तरिक पर्यटन विकासका कार्यक्रम प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।

सांसद कोमल वलीले अर्थतन्त्रलाई जीवन दिन, कृषि उत्पादन, पर्यटन उद्योगको पुनरुत्थान तथा उत्पादनशील क्षेत्रमा रोजगारी सिर्जना गर्ने किसिमका कार्यक्रम बजेट तथा नीति कार्यक्रममा सुुनिश्चित हुनुपर्ने धाणा राख्नुभयो । सांसद शेरबहादुर कुँवरले कोभिडको महामारीबाट कसरी मुलुकलाई मुक्त गरी जनतालाई सुरक्षित तुल्याउने भन्नेतर्फ बजेटमा आवश्यक कार्यक्रम समेटिनुपर्ने बताउनुभयो । उहाँले आर्थिकरूपमा कमजोर बनेको मुलुकको पर्यटन क्षेत्रलाई उकास्ने गरी नयाँ कार्यक्रम ल्याउन सुझाउनुभयो ।

सांसद तारादेवी भट्टले कोभिडका कारण धराशायी अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र उत्पादन क्षेत्रमा रोजगारी सिर्जना हुनेजस्ता विषयलाई बजेटमा समेट्न ध्यानाकर्षण गराउनुभयो । सांसद खिमकुमार विकले आगामी बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकामा राख्न तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । सांसद देवेन्द्र दाहालले कोभिड¬–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बोधन गर्ने गरी बजेट आउनुपर्ने बताउनुभयो ।

सांसद रामनारायण बिडारीले श्रमजीवी वर्ग, किसानको जीवनलाई सुखीमय बनाउने बजेट ल्याउन माग गर्नुभयो । रोजगारी सिर्जना, कृषिजन्य, दुग्धजन्य तथा मासुजन्य वस्तुको उत्पादन, साना तथा घरेलु उद्योगलाई अनुदान दिने नीति ल्याउन माग गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २९ गते बिहान ११ बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया