काठमाडौँ, १९ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेका जनाउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्रगतिमा भइरहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताउनुभएको छ ।
सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुका साथै लागत कटौतीमा मद्दत पुगेको जनाउँदै उहाँले नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको बताउनुभएको छ ।
सूचना प्रविधिलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उहाँको भनाइ छ । मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको जनाउनुभएको छ ।
केही समयअघि सरकारी सर्भरहरूमा समस्या देखिनुका साथै साइबर सुरक्षामा चुनौती देखिएपछि सरकारले उच्चस्तरीय कार्यदल नै गठन गरेर अध्ययन प्रक्रिया अघि बढाएको जानकारी दिँदै उहाँले कार्यदलले दिएको प्रतिवेदनलाई समेत आत्मसात गर्दै साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताउनुभयो ।
साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ । सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्ने भन्दै उहाँले तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि समयसापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क, २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
रासस