रिलेमा सुदूरपश्चिमको कीर्तिमान

  बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख ; सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेल सम्मिलित सुदूरपश्चिमको टोलीले तीन मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचेको हो ।

लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको तीन मिनेट ३२ दशमलव तीन सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भङ्ग गरेको हो । प्रतियोगितामा योसहित जम्मा तीन जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् ।

अघिल्लो दिन लुम्बिनीका सुदीप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले चार गुणा एक सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए ।

छात्रा चार गुणा चार सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते । त्यस्तै छात्र दुई सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते । उनले निर्धारित दूरी २३ सेकेन्डमा पूरा गरे । सुजलले योसहित प्रतियोगितामा एक कीर्तिमानीसहित तीन स्वर्णपदक हात पारे । उनले एक सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।

तपाईको प्रतिक्रिया