एउटै विधेयक पारित नगरी संसद् बैठक अन्त्य, यस्तो छ गरेको काम

  बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : प्रतिनिधिसभाको पहिलो अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ ।

गत पुस २५ देखि वैशाख १६ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित नगरी बैठक अन्त्य भएको हो । बैठक शुक्रवार राती १२ः०० बजेबाट अन्त्य भएको हो ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार संसद् बैठकमा पेस भएका केही विधेयकलाई सम्बन्धित समितिमा पठाइएको तथा राष्ट्रियसभाबाट उत्पत्ति भई आएका विधेयकहरू माथि दफावार छलफल भने सम्पन्न भएका छन् । तर, झन्डै ४ महिनासम्म चलेको संसद्ले कुनै पनि विधेयक भने पारित गर्न सकेन ।

‘यस अवधिमा प्रतिनिधिसभामा उत्पत्ति भएको “सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायीक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९”, “संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९” र “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ,’ विधेयक सम्बन्धी पहिलो अधिवेशनले गरेको काम कारबाहीका बारेमा भनिएको छ ।

यसैगरी, राष्ट्रियसभाबाट उत्पत्ति भएर आएका विधेयक माथिको दफावार छलफल भने पहिलो अधिवेशनमा सम्पन्न भएको छ ।

‘राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक माथि सभामा सैद्धान्तिक छलफल भइसकेको अवस्था छ,’ पहिलो अधिवेशनमा भएको काम कारबाहीको विवरण सार्वजनिक गर्दै सचिवालयले भनेको छ ।

तपाईको प्रतिक्रिया