राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम खेलकुद हो : कार्यवाहक राष्ट्रपति

  बैशाख १५, २०८०

काठमाडौँ, १५ वैशाख : कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने र राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बेलुका आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एक भब्य समारोहबीच कार्यवाहक राष्ट्रपति यादवले उद्घाटन गर्नुभयो । उहाँले खेलकुद नै विश्व बन्धुत्व, शान्ति र समझदारीको महत्वपूर्ण माध्यम भएको बताउँदै भविष्यमा देशको प्रतिनिधित्व गर्ने खेलाडीमाझ उपस्थित हुन पाउँदा खुसीको अनुभूति भएको उल्लेख गर्नुभयो ।

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगिता पिरामिड आकारमा जगबाटै सञ्चालन हुने हुँदा यस प्रतियोगिताको महत्व खेलाडी उत्पादनमा विशेष अर्थपूर्ण रहेको बताउनुभयो ।

सदस्य–सचिव घिसिङले आगामी वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता थप व्यवस्थित र व्यासायिक खेलाडी उत्पादनमा केन्द्रित गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रतियोगिताको १४औँ संस्करण विसं २०८० को फागुन १६ देखि १८ गतेसम्म सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

कृत्रिम प्रकाशमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । कृत्रिम प्रकाशमा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको पहिलो पटक हो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा भएको उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका छ सय ५८ खेलाडी सहभागी छन् । माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।

एथलेटिक्सतर्फ छात्र÷छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र÷छात्रामा समान १–१, करातेतर्फ छात्र÷छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र÷छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । रासस

तपाईको प्रतिक्रिया