नेपालगञ्ज, १४ वैशाख : बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पु-याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराउनुभएको छ ।
सो रोगबाट जोगिने उपाय बिहेबारी पूर्व रगत जाँच गरी सिकलसेल र थालेसेमिया भए नभएको पुष्टि गर्नुपर्ने डा पाण्डेको भनाइ छ । उहाँले यदि रोगी र बहाक फेला परे रोगी–रोगी र बहाक–बहाकका बीचमा हुने बिहेबारी रोके भावी पुस्तालाई सिकलसेल तथा थालेसेमियाबाट जोगाउन सकिने उल्लेख गर्नुभयो ।
उहाँले रोगी र बहाकबीचमा पनि बिहेबारी गर्न नहुने सुझाव दिनुभयो । बाहकले स्वस्थ व्यक्तिसँग बिहे गरे भावी पुस्तामा सिकलसेल तथा थालेसेमिया रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । उहाँले थारु समुदायमा सिकलसेल र थालेसेमिया जनस्वास्थ्य समस्याका रुपमा रहेको बताउनुभयो । अन्य समुदायमा पनि उक्त रोग देखिए पनि थारु समुदायमा बढी रहेको उहाँको भनाइ छ ।
सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभु चौधरीले सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन यसको जाँच गर्न जरुरी रहेकोमा जोड दिँदै थारु समुदायमा सिकलसेलको बढी प्रभाव पर्नुको कारणबारेसमेत जानकारी गराउनुभयो ।