काठमाडौँ, वैशाख २७ : नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरुलाई नेपालको कानुन कडाइका साथ पालना गर्न र आफ्ना जायज माग नेपालको कानुनअनुसार राख्न आग्रह गरेको छ ।
शुक्रबार आफू स्वदेश जान पाउनु पर्ने माग राख्दै सिंहदरवार अगाडि चिनियाँ नागरिकले गरेको प्रदर्शनका क्रममा प्रहरीले रोक्न खोज्दा उत्पन्न परिस्थितिका बारेमा काठमाडौँस्थित चिनियाँ दूतावासका प्रवक्ताले प्रेस नोट जारी गर्दै सो कुरा उल्लेख गरेका हुन । प्रेस नोटमा काठमाडौँस्थित चिनियाँ दूतावास र नेपाल प्रहरीबीचको छलफलबाट घटना सही किसिमबाट हल गरिएको निश्कर्ष निकालिएको छ ।
कोभिड १९ को महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन पालना गरी सहयोग गर्न दूताबासले चिनियाँ नागरिकहरुलाई बारम्बार स्मरण गराएको उल्लेख गर्दै अनावश्यक रुपमा बाहिर नजान र हवाइ उडानमाथिको प्रतिबन्ध नहटेसम्मका लागि धैर्यपूर्वक प्रतीक्षा गर्न आग्रह गरिएको छ ।