काठमाडौँ, वैशाख २६ : मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार प्रवेशद्वार अवरुद्ध गर्न खोज्ने ४७ जना चिनियाँ नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गर्ने क्रममा चिनियाँ नागरिकको आक्रमणबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको टाउकोमा चोट लागेको छ । अन्य प्रहरी कर्मचारीमाथि पनि आक्रमण भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीका अनुसार, दिउँसो पैदल हिँडेर एक्कासी सिंहदरबार पुगेका चिनियाँ नागरिकले प्रवेशद्वार अवरुद्ध गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको हो ।
स्वदेश फिर्ताको माग गर्दै नेपाल सरकार र चीन सरकारको ध्यानाकर्षण गराउन प्रशासनिक प्रवेशद्वार अवरुद्ध गर्नु परेको चिनियाँ नागरिकले प्रहरीलाई प्रतिक्रिया दिएका छन् ।
पक्राउ परेका सबैलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरू नेपालमा सञ्चालित विभिन्न परियोजनामा कार्यरत कामदार भएको बताइएको छ ।