कपिलवस्तु र रुपन्देहीका नाकामा झन्डै दुई हजार नेपाली अलपत्र

  बैशाख २६, २०७७

कपिलवस्तु/भैरहवा, वैशाख २६ : कोरोना संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनको ४६ दिनमा भारतसँग जोडिएका पश्चिम तराईको सीमामा ठूलो संख्यामा देश फर्किने नेपालीहरु जम्मा भएका छन् ।

भारतीय क्वारेन्टाइनमा राखिएका र अन्य स्थानबाट पैदल हिँडेर आएकाहरु ठूलो संख्यामा सीमामा जम्मा भएको सीमामा खटिएको सशस्त्रको टोलीले आफ्नो मुख्यालय र गृह मन्त्रालयलाई जानकारी गराएको छ । कपिलवस्तुसँग जोडिएको भारतीय नाकामा मात्रै झन्डै ९ सय नेपाली आइपुगेका छन् भने रुपन्देहीका बेलहिया लगायतका नाकामा झन्डै एक हजार नेपाली छन् ।

सीमा सिल गरिएपछि अलपत्र परेका कति नेपालीले दशगजा, नजिकैका खोला र मसानघाटमा समेत रात बिताएको बताएका छन् । बिहीबार बिहानै हावाहुरीसहित बर्षा भएपछि भने उनीहरु दशगजा कटेर नेपाली भूमिमा आउने क्रम बढेको छ । बुधबार साँझसम्म दशगजामा ३ सय ५६ जना नेपाली आइपुगेकामा शुक्रबार दिउसो यो संख्या ८ सय ९६ पुगेको छ । कपिलवस्तुका कृष्णनगर, मर्यादपुर, कर्मा, कुकुरभुकुवा, चाकलचौडा, भिल्मी, हदोर्ना र हथिहवा नाकामा नेपाली आइपुगेका हुन् ।

सरकारी तथ्यांकअनुसार कृष्णनगरमा २ सय १, मर्यादपुरमा १ सय ५३ र चाकलचौडामा १ सय ९ जना दशगजामा बसेका छन् । त्यस्तै भिल्मीमा १ सय ८३, हर्दोनामा २ सय ३ र हथिहवामा ४७ जना दशगजामा आइपुगेका छन् ।

उनीहरुलाई स्थानीय तहले खाना र आवासको व्यवस्था गरेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलले उनीहरु पानी र हावाहुरीका कारण नेपालतिर आएकाले ओत लगाइएको भएपनि दशगजामै फर्केर बसेको बताए । ‘गृह मन्त्रालयलाई हामीले जानकारी दिएका छौं,’ उनले भने, ‘आदेश नआएसम्म उनीहरु त्यतै बस्छन् ।’

अलपत्रको अवस्था दयनीय देखेपछि कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले विद्यालयमा ल्याएर खाने, सुत्ने व्यवस्था गरेर राखेको बताए । भारतको सिद्धार्थनगरका डिएमलाई दशगजाका नेपालीको व्यवस्थापन गर्न भनेपनि सुनवाई नगरेको एक सुरक्षा अधिकारीले बताए ।

उता, रुपन्देहीका बेलहिया लगायतका नाकामा नेपाल आउन चाहने एक हजारभन्दा बढी नेपाली जम्मा भएका छन् । तीन साता पहिले यो नाकाबाट ३ सय नेपालीलाई भित्र्याइएको थियो । क्वारेन्टाइनमा बस्ने अवधि पूरा भएको भन्दै भारतीय स्थानीय प्रशासनले नेपालीलाई आफ्नै देश फर्किन दबाब दिएको उनीहरुले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका निरिक्षक ईश्वरी अधिकारीका अनुसार नौतनवामा मात्रै क्वारेन्टाइन पूरा गरेका १ हजार ४ सय ४० जना नेपाली छन् ।

‘लकडाउन भए पनि नेपाल आउने नेपालीको चाप सिमानामा दिनहुँ देखा परेको छ,’अधिकारीले भने, ‘सिमानामा आएका नेपालीलाई भारतीय पुलिसको सहयोगमा उतै भारततर्फ फर्काइदिने गरिएको छ ।’बिहीबारमात्रै सिमानाबाट नेपाल आउन चाहेका १ सय ६ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर भारततर्फ नै फर्काइएको उनले बताए ।

उनीहरुमध्ये कतिपय पैदल यात्रा गर्दै र कतिपयलाई भारत सरकारले सिमानासम्म ल्याइदिएको हो । मूल नाकाबाट नेपाल आउन नपाएपछि कैयौंले खुल्ला सिमानाबाट लुकेर आउन थालेका छन्

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत ध्रुव नेपालले सिमानामा रोकिएका नेपालीको अवस्थाका बारेमा माथि जानकारी गराइए पनि अहिलेसम्म कुनै निर्णय नआएको बताए । ‘यसबारे पटकपटक जानकारी गराइएको छ,’नेपालले भने, ‘माथिबाट निर्णय नआएसम्म हामीले केही गर्न सक्दैनौं ।’

पश्चिम तराईकै अर्को जिल्ला बाँकेको नरैनापुर नाकामा झन्डै अढाई सय नेपाली आएको र उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा उतै रोकिएको नाकामा खटिएका प्रहरीले जानकारी दिएका छन् ।

लकडाउनमा आएका नेपालीलाई भारतीय एसएसबीले नेपालतरै पठाउने गरेका छन् । नेपाली सुरक्षाकर्मीले आउन नदिँदा उनीहरु दशगजामा अलपत्र परेका हुन् । रुपन्देही र कपिलवस्तुमा अवैध तरिकाले नेपाल प्रवेश गरेकामा कोभिड १९ को संक्रमण देखिइसकेको कान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया