राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई

  बैशाख ०२, २०८०

खोटाङ, २ वैशाख : तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ ।

यही वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिकाले १६ स्वर्ण, ११ कास्य र १२ रजत पदकसहित प्रथम उपाधि उचालेको हो ।

जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयमा अध्ययनरत छात्रछात्रा सहभागी उक्त प्रतियोगितामा छ स्वर्ण, दुई रजत र १२ कास्य पदकसहित साकेला गाउँपालिका दोस्रो, चार स्वर्ण, चार रजत र १० कास्य पदकसहित दिप्रुङ चुइचुम्म गाउँपालिका तेस्रो भएका छन् । दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो तथा दुई स्वर्ण र दुई रजत पदकसहित हलेसी तुवाचुङ गाउँपालिका पाँचौँ भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकाका खेलाडी सहभागी भएका थिए । गत चैत २८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दो विधामा एक सय ३८ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको सो प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य, कबड्डीतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो करातेतर्फ आठ स्वर्ण, आठ रजत र आठ कास्य तथा तेक्वान्दोतर्फ आठ स्वर्ण, आठ रजत, आठ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः रु १५ हजार, रु १२ हजार र रु नौ हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८–१८ तथा कराते र तेक्वान्दोमा छ–छ छात्रछात्राले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राईले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया