नवलरासीको फोर ब्रदर्श फाइनलमा प्रवेश

  चैत २८, २०७९

सुदूरपश्चिम, २८ चैत : कैलालीमा जारी ‘गौरीगङ्गा गोल्डकप फुटबल प्रतियोगिता’को आज भएको प्रतिस्पर्धामा नवलपरासीको फोर ब्रदर्श एएफसीले बर्दियाको नवयुग मैत्रीभाव एकता समाज क्लबलाई आज ४–१ गोलले पराजित गरेको छ ।

जितसँगै फोर ब्रदर्श प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गौरीगङ्गाको खेल मैदानमा आजको सेमिफाइनल प्रतिस्पर्धामा नवलपरासीका लागि कप्तान विनोद केवटले व्यक्तिगत दुई र हरि कठायतले एक गोल गरे । खेल सुरु भएको पाँच मिनेटमै हरि कठायतको गोलमार्फत फोर ब्रदर्शले अग्रता लिएको थियो ।

बीसौँ मिनेटमा कप्तान विनोद केवटले एक गोल थप्दा फोर ब्रदर्श २–० को अग्रतामा पुग्यो । पहिलो हाफको २५ औँ मिनेटमा बर्दियाका तर्फबाट फागुराम थारुले एक गोल फर्काए । खेलको ४० औँ मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफको खेल ३–१ को अग्रतामा सकियो ।

दोस्रो हाफको २० औँ मिनेटमा कप्तान विनोद केवटले फोर ब्रदर्शलाई थप एक गोलको योगदान दिँदै सहज जित दिलाए । उनी म्यान अफ दी म्याच घोषित भए ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्ट्स क्लबले आयोजनामा यही चैत २१ गते सुरु प्रतियोगिताको चैत ३० गते समापन हुँदैछ । प्रतियोगितामा देशभरका १० टोलीले सहभागिता जनाएका छन् ।

बाँकेको रेसिङ्ग क्लबले खेल्न नपाउने
‘गौरीगङ्गा गोल्ड कप फुटबल प्रतियोगिता’मा बाँकेको रेसिङ्ग सहारा क्लबबाट खेलको भावनाविपरीत क्रियाकलाप देखिएको भन्दै आयोजक गौरीगङ्गा–११ स्पोर्ट्स क्लबले भत्र्सना गरेको छ ।

आयोजकले एक विज्ञप्तिमार्फत रेसिङ्ग क्लबमा समावेश तीन जना विदेशी खेलाडीको श्रम स्वीकृति पटक पटक माग्दा पनि दिन नसकेको अवस्थामा उक्त क्लबका अध्यक्ष चक्र क्षेत्रीले सेमिफाइनलको प्रतिस्पर्धा हुनुअघि सोमबार खेलको नियमविपरीत र जबर्जस्ती विदेशी खेलाडीले खेल्न पाउनुपर्ने माग गरी आयोजक क्लबका अध्यक्ष दिनेश कलेलमाथि दुव्र्यवहार गरेको भन्दै क्षेत्रीमाथि कारबाहीको माग गरेको छ ।

घटनापछि क्लबको नियमानुसार रेसिङ्ग क्लबलाई आगामी दिनमा हुने गौरीगङ्गा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी नगराउने गरी कारबाही गरिएकोसमेत विज्ञप्तिमा जनाइएको छ । (रासस)

तपाईको प्रतिक्रिया