लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती

  बैशाख २५, २०७७

भैरहवा, वैशाख २५ : २५ सय ६४ औं बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा बिहीबार सामाजिक दूरी कायम गरी प्रार्थना गरिएको छ । बौद्ध भिक्षु-भिक्षुणी तथा लामा÷गुरुआमाहरुबाट विश्वशान्तिको कामना गर्दै प्रार्थना गरिएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री केपि शर्मा ओली र संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । साँझ पाँच÷सात जनाको उपस्थितिमा पूजापाठसहित २५ सय ६४ वटा दीप प्रज्वलन गरिएको लुम्बिनी विकास कोषका कामु सदस्यसचिव ज्ञानिन राइले बताउनुभयो ।

कोषले सम्पूर्ण बौद्ध समुदाय र बौद्धमार्गीहरुलाई सरकारबाट जारी भएको निर्देशनको पूर्णरुपमा पालना गर्दै आ–आफ्नो घरमा दीप प्रज्वलन, प्रार्थना एवं पूजापाठ गरी बुद्ध जयन्ती मनाउन अपिल गरेको थियो ।

यसैबीच २५ सय ६४ औं बुद्ध जयन्तीका अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्तीमाफृत शुभकामना दिंदै बुद्धका उपदेश बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातीकै लागि अमूल्य निधी भएको उल्लेख गर्नुभएको छ ।

बुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोटको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

बुद्धजयन्तीमा सुनसान बन्यो लुम्बिनी
 हरेक वर्षको बुद्ध जयन्तीमा लुम्बिनीमा पर्यटकहरुको बाक्लो चहलपहल हुन्थ्यो । आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने लुम्बिनी यस वर्षको बुद्धजयन्तीमा भने सुनसान रह्यो । कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन घोषणा गरेकाले २५६४ औं बुद्ध जयन्तीमा लुम्बिनी सुनसान बनेको हो ।

हरेक वर्षको बुद्धजयन्तीका दिन राष्ट्रपति, प्रधानमन्त्री लगायत स्वदेश र विदेशबाट विशिष्ट पाहुनाहरुको आगमन हन्थ्यो भने बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, पूजापाठ र प्रार्थना लगायतका औपचारिक कार्यक्रम हुने गर्थे । तर यसवर्ष भने लुम्बिनीमा कुनै औपचारिक कार्यक्रम गरिएन । लुम्बिनी विकास कोषका अनुसार मायादेवी मन्दिर बनेयता लुम्बिनी सुनसान भएको यो पहिलोपटक हो ।

हरेक वर्ष बैशाख शुक्ल पूर्णमाका दिन आयोजना गर्ने बुद्ध जयन्ती मूल समारोह र यसवर्ष आयोजित तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत कोषले बैशाख १९ गते सूचना प्रकाशित गरी स्थगीत गरेको थियो ।

लुम्बिनीका होटलहरुले बुद्ध जयन्तीमा राम्रो आम्दानी गर्थे । तर यसपटक होटल क्षेत्र पूर्णरुपमा सुनसान रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । “लुम्बिनीका होटलहरु बुद्धजयन्तीमा भरिभराउ हुन्थे, तर यसपटकको सुनसानले होटलहरु संकटमा परे”–उहाँले भन्नुभयो ।

लुम्बिनी क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद फकरुद्धिन खानले आफूले पहिलोपटक लुम्बिनी सुनसान बनेको बताउनुभयो । “पर्यटकबिहीन बुद्धजयन्ती र सुनसान लुम्बिनी यसअघि कहिल्यै भएको थिएन”–उहाँले भन्नुभयो ।

कोषका कामु सदस्यसचिव ज्ञानिन राइका अनुसार चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि नै लुम्बिानी सुनसान बनेको हो । बुद्ध जयन्तीमा मात्रै स्वदेशी र विदेशी गरी कम्तीमा दशहजार मानिस लुम्बिनी भ्रमणमा आउने गरेको कोषको तथ्यांक छ । बुद्धजयन्तीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करनी कुण्ड, विश्व शान्ति दीप, केन्द्रीय नहर, शान्ति स्तुपा, सेन्टर क्यानल, ग्रेट लाटर स्तुपा मात्र होइन, यहाँ रहेका विभिन्न बिहारहरु पनि पूर्णरुपमा खाली रहे ।

बुद्धजयन्ती मनाउन सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकाृे अध्यक्षतामा एक समिति बनाई एक करोड बजेट समेत बिनियोजन गरी तयारी अघि बढाएको थियो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले गौतमबुद्धले सोंचेको शान्त भूमि अहिले लकडाउनको समयमा शान्त भएको बताउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले लुम्बिनीमा ठूला ध्यान गराएर ध्यानको महत्व दर्शाउने गरी कोरोनाको महामारी सकिएपछि कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो ।
कोषका अनुसार सन २०१९ को जनवरीदेखि डिसेम्बरसम्म यहाँ १५ लाख ५८ हजार पर्यटक भित्रिएका थिए । यो पर्यटक आउने मौसम पनि हो । तर गत चैत ११ गतेदेखिको लकडाउनपछि सबै होटल बन्द छन् ।

होटलमा काम गर्ने श्रमिकहरु बिदामा छन् । लकडाउन खुलेपनि तत्काल होटलको अवस्था माथि उठ्न सक्ने देखिंदैन । लुम्बिनीमा एकसय २० होटल, ३० ट्राभल एजेन्सी, एकसय ६० रिक्सा र एकसय १० हेन्डिक्राफ्टका पसलहरु लकडाउनका कारण प्रभावित छन् ।

तपाईको प्रतिक्रिया