काठमाडौँ, २५ चैत : बागमती प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन् । पुरुषतर्फको खेलमा बागमती प्रदेश र महिलातर्फ एपिएफ क्लब च्याम्पियन बनेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा आज सम्पन्न प्रतियोगितामा बागमती प्रदेश एक स्वर्ण, तीन रजत र दुई कांस्य पदकसहित टिम च्याम्पियन बन्न सफल भएको हो ।
विभिन्न छ स्पर्धा समावेश पुरुषतर्फको खेलमा एपिएफ, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान १–१ स्वर्ण जितेका छन् । बागमती रजत पदकका आधारमा पहिलो भएको हो । एपिएफले स्वर्णबाहेक दुई रजत र एक कांस्य जितेको थियो ।
त्यसैगरी महिलामा पनि समान छवटै स्पर्धामा भीडन्त भएको थियो । जसमा एपिएफले तीन स्वर्ण, एक रजत र एक कांस्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । बागमतीले दुई स्वर्ण तथा प्रहरीले एक स्वर्ण हात पारे ।
वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित भए । महिलामा विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर नेपाली बक्सिङमा इतिहास रचेकी अन्जनी तेली उत्कृष्ट खेलाडी चुनिइन् । उत्कृष्ट भएबापत उनीहरुले जनही रु २५ हजार पुरस्कार पाए । रविन र अन्जनी आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता हुन् ।
प्रतियोगिताको अन्तिम दिन आज १२ वटै स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा पुरुष ५१ केजी तौल समूहको फाइनलमा रविन थापाले एपिएफका आश तामाङलाई पराजित गरे । सन्ताउन्न केजीमा कोशीका सुरेन्द्र राई पहिलो भए । उनले फाइनलमा बागमतीका शुलभ मालीलाई हराए । त्रिसठ्ठी दशमलव पाँच केजीमा साग स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा पहिलो भए । उनले फाइनलमा एपिएफका सोनाम सार्कीलाई पाखा लगाए ।
त्यस्तै ७१ केजी फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोशीका प्रशान्त दाहालमाथि जित रच्दै शीर्ष स्थानमा रहे । असी केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मारे । उनले फाइनलमा बागमतीका मनोज तामाङको चुनौती पन्छाए । बयानब्बे केजी फाइनलमा एपिएफका रविन नेपालले बागमतीका उमङ महर्जनलाई हराउँदै स्वर्ण चुमे ।
महिला ५० केजीमा एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास कायम गरेकी बागमतीकी सुष्मा तामाङ पहिलो भइन् । सुष्माले फाइनलमा मधेस प्रदेशकी अस्मिता दुवाललाई निराश पारिन् । चवन्न केजीमा बागमतीकी एन्जनी तेलीले फाइनलमा एपिएफकी सन्जुमाया थिङलाई पराजित गर्दै पहिलो बनिन् ।
सन्ताउन्न केजीमा प्रहरीकी निशा तामाङले स्वर्ण जित्न बागमतीकी पेमा शेर्पालाई पाखा लगाइन् । साठी केजीमा एपिएफकी सङ्गीता सुनुवारले पहिलो स्थान कब्जा गरिन् । सङ्गीताले फाइनलमा बागमतीकी हेमा राईलाई पाखा लगाइन् ।
महिला ६६ केजीमा एपिएफकी विनिता थापामगर तथा ७५ केजीमा एपिएफकी सरस्वती रानामगरले पहिलो स्थान हात पारे । विनिताले बागमतीकी निश्मा गुरुङ तथा सरस्वतीले कोशीकी त्रिशा जबेगुलाई फाइनलमा पन्छाए । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार र रु साढे सात हजार पुरस्कार प्राप्त गरे ।
विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, आयोजक गणेशमान सिंह स्पोर्ट्स समितिका संयोजक सञ्जीव तुलाधर, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष राजीव श्रेष्ठ, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।
रासस