राँझा, १९ चैत : गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी खुसी भएको स्थानीय अगुवा अजीज बेहनाले बताउनुभयो । वडाको स्वास्थ्य केन्द्रमा औषधि नपाइने र नेपालगञ्ज जान टाढा पर्ने भएकाले गाउँलेले रोग लुकाएर बस्ने गरेको उहाँको भनाइ छ ।
साविक हिरमिनिया गाविसमा रहेको जङ्गलीपूर्वालगायतका केही गाउँलाई नेपालगञ्ज उपमहानगरपालिकामा गाभेर २३ नं वडा बनाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको फोहर विसर्जन केन्द्र सञ्चालन गर्न यो गाउँलाई उपमहानगरमा गाभिएको हो । वडासँग जोडिएका अन्य गाउँ भने डुडुवा गाउँपालिकाको वडा नं ६ मा पर्दछन् ।
उपमहानगरपालिकको फोहर विसर्जन केन्द्रसँग जोडिएको गाउँमा छाला रोगको सङ्क्रमण देखिएपछि स्वास्थ्य शिविर आयोजना गरिएको महासङ्घ बाँकेका प्रमुख कुस्माखर बस्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार फोहर व्यवस्थापन केन्द्र ९डम्पिङ साइट०सँग जोडिएको नेपालगञ्जको वडा २१ र २३ तथा डुडुवा गाउँपालिकाका केही वडालाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा आएका स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षणसहित आवश्यक औषधिसमेत उपलब्ध गराइएको छ ।
गाउँटोलमै चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाले सहजता भएको बताएका छन् । भेरी अस्पताल नेपालगञ्जका छाला रोग विशेषज्ञ डा अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकांशमा लुतो, चिलाउने, दाद, खुट्टा फाटेकाजस्ता समस्या देखिएको प्रमुख बस्यालले बताउनुभयो ।