कास्की, १८ चैत : पोखरामा आज सम्पन्न एसिया कप ट्रायथोलन च्याम्पियनसिपमा पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिलातर्फ स्लोभाकियाका माग्ररेटा विकानोभा च्याम्पियन बन्नुभएको छ ।
नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइडमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ बब हलरले सात सय ५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौड गरी निर्धारित दुरी ५५ मिनेट ५५ सेकेण्डमा पूरा गरी प्रथम स्थान हासिल गर्नुभएको हो ।
उज्वेकिस्तानका एलेक्सान्द्र कुरिशोभ दुई सेकेण्डले पछि पर्नुभयो । उहाँले निर्धारित दुरी ५५ मिनेट ५७ सेकेण्डमा पूरा गर्नुभएको थियो । लक्जम्वर्गकै स्टेफन जाचाउसले ५६ मिनेट एक सेकेण्डमा निर्धारित दुरी पूरा गरी तृतीय बन्नुभयो । जापानका क्योटारो योसिकावाले समग्रमा ५६ मिनेट नौ सेकेण्डमा पौडी, साइक्लिङ र दौड पूरा गरी सानत्वना स्थान हासिल गर्नुभएको छ ।
पुरुषतर्फ नेपालसहित लक्जम्वर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी ४७ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
महिलातर्फको प्रतिस्पर्धामा विकानोभाले निर्धारित दुरी एक घण्टा चार मिनेट ५१ सेकेण्डमा पूरा गरी च्याम्पिन बन्नुभयो । जापानकी मिनेरी इकिनोले एक घण्टा पाँच मिनेट १८ सेकेण्डमा दुरी पूरा गरी उपविजेता बन्नुभयो ।
जापानकै चिसालो नाकाजिमाले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दुरी पूरा गरी तृतीय स्थान हासिल गर्नुभएको नेपाल ट्रायथोलन सङ्घले जनाएको छ ।
साउथ एसिया कप च्याम्पियनसीपमा पुरुषतर्फ भारतका आदर्श मुरारिधर नाइर सिनिमोलले उपाधि जित्नुभएको छ । उहाँले एक घण्टा चार मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्नुभयो । भारतकै विश्वनाथ यादवले एक घण्टा छ मिनेट २५ सेकेण्ड पार गर्दै उपविजेता बन्दा नेपालका वसन्त थारु एक घण्टा छ मिनेट ५२ सेकेण्डमा दुरी पूरा गरी तृतीय बन्नुभयो । साउथ एसिया कप च्याम्पियनसीप महिलातर्फ भारतका प्रज्ञा मोहन प्रथम, भारतकै मान्सी मोहित द्वितीय र नेपालकी श्रेवी महर्जन तृतीय हुनुभयो ।
नेपालतर्फका राष्ट्रिय ट्रायथोलनको प्रतिस्पर्धामा पुरुषतर्फ वसन्त थारु च्याम्पियन बन्नुभयो । उहाँले एक घण्टा छ मिनेट ५२ सेकेण्डमा दुरी पूरा गर्दा दीपेश चौधरीले एक घण्टा नौ मिनेट १७ सेकेण्डमा पूरा गरी द्वितीय बन्नुभयो । मौलिक महर्जनले पौडी निर्धारित दुरी पूरा गर्न एक घण्टा ११ मिनेट तीन सेकेण्ड समय लगाउनुभयो ।
यसैगरी महिलातर्फको राष्ट्रिय प्रतिस्पर्धामा श्रेवी महर्जन प्रथम हुनुभयो भने केशरी थापा मगरले द्वितीय स्थान हासिल गर्नुभयो । ट्रायथलनमा महिला-पुरुष उपाधि विजेताले मेडल, प्रमाण पत्रका साथ छ सय ३० डलर पुरस्कार प्राप्त गरेका छन् । द्वितीय हुनेले पाँच सय २५ डलर, तृतीयले चार सय २० डलर र सान्त्वनाले तीन सय १५ डलर पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
विजयी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइराला, नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । रासस