काठमाडौँ, वैशाख २३ : गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उनले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् । मन्त्री थापाले लकडाउन कहिलेदेखि र के शर्तमा खुकुलो बनाइने भन्नेबारे भने खुलाएनन् ।
‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ उनले भने ‘बेरोजगारीलगायतका समस्या पनि देखिएका छन्, गाउँ फर्किने अभियान पनि यही कारण देखिएको हो ।’
कोरोना अन्तर्राष्ट्रिय संकट भन्दै मन्त्री थापाले यसका कारण आर्थिक संकट र सामाजिक र राजनीतिक असन्तोष निम्तिएको पनि बताए । कोरोनाकै कारण अहिले सामाजिक र आर्थिक असन्तोष विकास हुँदै गएको पनि उनले टिप्पणी गरे ।