चितवन, चैत १० : नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो ।
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ ।
गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने अधिकार दिएको थियो ।
त्यहीअनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर साधारणसभा तथा अधिवेशन गर्न लागिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । महाधिवेशनमा ७६ जना प्रतिनिधिसहित ८० जना सहभागी हुनेछन् ।
कराते महासङ्घको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना तथा महासङ्घमा आबद्ध चार विधाहरु (सितेरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट पाँच–पाँचका दरले २० गरी कूल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउनेछन् ।
करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । तीमध्ये हरेक प्रदेशबाट एक–एक गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउने छ । महाधिवेशनले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना सदस्य रहेको समिति चयन गर्नेछ ।
विसं २०६९ सालमा महासङ्घ गठन भएको थियो ।