काठमाडौँ, चैत ६ : बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् ।
राष्ट्रिय बीमा संस्थानले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ताविना सम्भव नै नहुने भन्दै अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बीमालेख वितरणको भरपर्दो टेस्टेड माध्यम भएको बताउनुभएको हो ।
सो माध्यमलाई नियामक निकाय वा बीमा प्राधिकरणले सुव्यवस्थित बनाइदिँदा अझ बढी बजार विस्तारमा सहजता छाउने उहाँहरूको भनाइ थियो । प्राइम लाइफका पूर्वप्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले बीमा कम्पनीका तर्फबाट अभिकर्ता नै ग्राहकसँग साक्षात्कार गर्ने पहिलो अन्डरराइटर भएको बताउनुभयो ।
कम्पनीको अभिकर्ताप्रति अत्यन्त विश्वास हुने भन्दै उहाँले भन्नुभयो, “ग्राहक आफैँ कम्पनीमा नगन्य मात्रामा आउँछन् तर अभिकर्ताले उनीहरूको विश्वासमा ग्राहक तान्छन्, अभिकर्ताकै विश्वासमा ग्राहक आकर्षित हुन्छन् र बीमाको व्यापार बढ्छ ।”
संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढङ्गले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिकाको चर्चा गर्दै अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय प्रवर्द्धन गर्दै लैजाने नीति लिएको जानकारी दिनुभयो ।
उहाँले अभिकर्ताहरूको मनोबल उच्च बनाई थप उत्प्रेरित र जवाफदेही बनाउने, कर्मचारी र अभिकर्ताहरूबीच पारस्परिक सहयोग र सहकार्यको कार्यमूलक वातावरण निर्माण गरी बीमा व्यवसायको विकास र विस्तार गर्ने उद्देश्य रहेको सुनाउनुभयो ।
संस्थानका वरिष्ठ अभिकर्ता हरिशरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ता उत्पादन गर्नु आजको आवश्यकता भएको भन्दै त्यसमा नेपाल सरकार, बीमा प्राधिकरण, बीमा कम्पनी, बीमित तथा अभिकर्ता सबैले ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो ।
अभिकर्ताले गर्ने बजारीकरणले घर–घरबाटै बीमा गराउने बीमित बढाउँदै बीमाको पहुँच वृद्धि गर्ने भन्दै उहाँले बजारको मागअनुसार नयाँ जीवन बीमा योजनाको पहिचान गरी ल्याउनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराउनुभएको थियो ।